“नेपाली नारीहरूलाई मुम्बईको ‘नरक’ मा पुर्‍याउनेहरूको चंगुल ध्वस्त बनाएरै छाड्नेछु” – चरिमाया तामाङ

0
49

२१ अगस्त २०१२ 

चमिना भट्टराई

बम्बैको कोठीमा बेचिएकी एक अवलाले सोचेकी थिइनन्– कुनै दिन आफ्नो पनि एउटा सानो परिवार, माया गर्ने श्रीमान् र काखमा लुटुपुटु गर्ने छोराछोरी होलान् भनेर । २०५० सालमा सिन्धुपाल्चोकको जंगलमा घाँस काट्दाकाट्दै दलालको फन्दामा परेर बम्बैको वेश्यालय पुर्‍याइएकी थिइन् उनी । त्यहाँ २२ महिना नारकीय जीवन बिताएर आएकी चरीमाया तामाङको साहस र हिम्मत सहरिया पढेलेखेका महिलाको भन्दा धेरै माथि छ । महिला बेच्ने दलालहरूलाई कारबाही गराएकी छन्, महिला बेचबिखनविरुद्ध सशक्त अभियान चलाएकी छन् उनले । महिलाका लागि अस्मिता सबैभन्दा ठूलो सम्पत्ति हो, उनका हकमा त्यो खोसिएरै छाड्यो । तर, आज उनले पाएका सम्मान अनि गरेका कामले पीडा लुकाउने र छल्ने वस्तु होइन रहेछ भन्ने प्रमाणित गर्दै छन् । तिनै बम्बैका अँध्यारा दिनबारे चरीमायाले सौर्यसँग गरेको कुराकानी :

एक्कासि होस आएजस्तो भयो । ठूलो कोठामा एक्लै छु । राम्ररी याद छ, मैले लुंगी र चोली लगाएकी थिएँ । तर, अहिले मेरो शरीरमा कुर्तासुरुवाल थियो । ढोका खोल्न खोजेँ, खुलेन, थुनिएकी रहेछु । ऐनामा हेरेँ, कपाल अलिअलि छोट्याइएको रहेछ । झसंग भएँ, आफू हुइनँ कि जस्तो पो लाग्यो । अनुहारै अर्कै । झ्यालबाट अर्को घरमा हेरेँ, चौथो तलामा रहेछु, बिल्कुलै नौलो परिवेश । आफ्नो गाउँको जस्तो परिदृश्य पटक्कै लाग्दैन । साइनबोर्डमा लेखिएको देखेँ– गोरखपुर । कहिल्यै नसुनेको बिरानो ठाउँ । झ्यालको फलामे डन्डी भाँच्न सक्ने हिम्मत ममा थिएन । त्यसमाथि चौथो तलाबाट हामफाल्नु पनि कसरी † नौनारी गलेर आए । आजित भएर थचक्क बसेँ ।
होस खुल्नुअगाडिको अन्तिम स्मृति दिमागभरि आउन थाल्यो झल्झली– साथीहरूसँग जंगलमा घाँस काट्न गएकी थिएँ । साथीहरू भारी पुर्‍याएर हिँडेछन्, म एक्लै परेँ । एक्कासि चारजना केटा मेरा अगाडि आइपुगे । एउटा मेरै गाउँको थियो । उनीहरू पहिल्यैदेखि दाउ हेरेर बसिरहेका रहेछन् । घाँसको भारी फालिदिए अनि फकाउन थाले, ‘कति गछ्र्यौ घाँसदाउरा, सधैँ यस्तो दु:ख गरेर हुन्छ, हिँड हामीसँग, राम्रो काम लगाइदिन्छौँ ।’ मैले मानिनँ । म जसरी बाँचूँ मेरो कुरा हो भनेँ । डर देखाउन थाले, ‘भनेको नमाने काटेर भीरबाट फालिदिन्छौँ ।’ लौ मार्ने भए मार, म तिमीहरूसँग जान्नँ भनेँ । उनीहरूलाई पक्का भयो, म मान्नेवाला छैन । त्यसपछि खानेकुराको एउटा पोको झिके । मेरो मुखमा जबर्जस्ती कोच्याए । त्यसपछि के भयो मलाई थाहा छैन । अहिले यही कोठामा थुनिएकी पाउँदै छु, आफूलाई ।
साँझ चार बजेतिर तिनै चारजना आइपुगे, अरू मान्छे पनि थिए । मैले नबुझ्ने भाषामा के–के कुरा गरे ।
मतिर आएर भने– हामीसँग हिँड ।
मैले साधेँ– मलाई किन यहाँ ल्याएको, कहाँ जाने ?
अझै फकाउन खोज्दै छन्– अब कस्मिर जाने, त्यहाँ लुगा बुन्ने कारखाना छ, राम्रो काम पाइन्छ । अहिले हिँड, बस्न मन लागेन भने फर्कनू ।
अनुनय गरेँ– ‘मलाई छोडिदिनुस्, यहीँबाट घर जान्छु, गाउँमा तपाईंहरूको कुरा कसैलाई सुनाउँदिनँ ।’
राक्षसहरूले मान्दै मानेनन् । मलाई जबर्जस्ती रेलमा हाले । खुबै गर्मी थियो । चिसो खान दिए । त्यसमा के थियो कुन्नि † म फेरि लठ्ठिएछु । ब्युँझदा अँधेरी भन्ने ठाउँमा पुर्‍याएछन् । रेलबाट ओरालेर बाटोमा हिँडाउँदै रहेछन् । एउटा पुल क्रस गराएर खाना खाने ठूलो होटलमा पुर्‍याए । वरिपरि ४०–५० जना मान्छे थिए । म ५ कक्षा पढेकी सोह्रवर्षे अवला, बिरानो ठाउँमा रोइरहेकी छु तर कसैले वास्ता गर्दैन । सबै आ–आफ्नै धुनमा । एउटा केटो बाहिर निस्कियो, बाँकी अर्को कुनामा बसे । छिनछिनमा मलाई छड्के आँखाले हेरिरहेका थिए । दुई घन्टाजति पछाडि अघि निस्कने केटो आइपुग्यो, उसका साथमा एउटी महिला पनि छे । मलाई त्यो महिलालाई भाउजू भन्नुपर्छ भनेर अह्राए । उनीहरू पनि कोही माइजू, कोही भाउजू त कोही दिदी साइनो लगाइरहेका थिए ।
‘आज हामी जाने ठाउँमा नपुग्ने भयौँ, बास बस्नुपर्छ । रेलको बाटोजस्तो होइन, गाडीमा महिला–पुरुष सँगै हिँड्नु हुँदैन, प्रहरीले पक्राउ गर्छ,’ उनीहरू कुरा फेर्न थाले, ‘त्यसैले तिमी माइजूसँग जाऊ, हामी अर्को गाडीमा आउँछौँ ।’ मैले मानिनँ, घर जान देऊ भनेर रोईकराई गरेँ । तर, मेरो आवाज सुन्ने कसले † बाहिर दुइटा ट्याक्सी रोकेका रहेछन् । अगाडिपट्टि सिटमा त्यो आइमाई बसी, मलाई पाखुरामा समातेर पछाडिपट्टिको सिटमा हुत्याइदिए, ढोका लक गरिदिए । खोल्ने कसरी, थाहा थिएन । कहिल्यै ट्याक्सी चढेकी पनि थिइनँ । गाडी चढेर सिन्धुपाल्चोकबाट साँखुसम्म आएकी थिएँ, पहिले एकचोटि । ती केटाहरू अर्को ट्याक्सीमा हाम्रो अघिपछि गर्दै आउँदै थिए ।
त्यो महिला नेपाली नै रहिछ । मेरा बारेमा सबै थाहा भएजसरी कुरा गर्दै थिई, वर्षौंदेखि चिनिरहेको आफन्तले जसरी– ‘तिम्रा बुबा बित्नुभयो होइन ? बिचरा कत्ति पीर छ तिम्लाई, पैसाको खाँचो पनि होला ।’ घाँसपात गर्दा कोरिएका मेरा खस्रा हातखुट्टा सुमसुम्याउँदै ममता देखाएजसो गरी– ‘हेर कत्ति दु:खी तिमी † तर, अब दु:ख हुँदैन । पछि आमा र दाजुभाउजूलाई पनि यतै ल्याउन सक्छ्यौ, पीर नमान ।’
करिब दुई घन्टाको यात्रापछि एउटा बोर्ड देखेँ– बम्बईमा स्वागत छ । हातखुट्टा त्यसैत्यसै काम्न थाले, शरीर गल्यो । गाउँमा सुनेकी थिएँ– सोझा नेपाली केटीलाई बम्बईको वेश्यालयमा पुर्‍याएर बेच्छन् † मैले पनि आफू त्यही फन्दामा परेको अनुमान गरेँ । सोचेँ– ‘अब रोएर कसले सुन्छ र ? सम्हालिनुपर्छ, आँटले काम गर्नुपर्छ ।’
ट्याक्सी १३ नम्बर गल्लीमा रोकियो । महिलाले मलाई सम्झाई, ‘दायाँबायाँ नेहेरी पछिपछि आउनू, तिमी नयाँ मान्छेलाई यो ठाउँ राम्रो छैन ।’ मलाई झन् डर लाग्यो– कस्तो ठाउँ हो यो † छड्के आँखा बनाएर दायाँबायाँ हेरेँ, सबै नेपाली महिला छन् । तर, हाम्रो गाउँघरको जस्तो पहिरन कसैको छैन । कोही साडीमा, कोही कुर्तासलवारमा । थलथल मासु लागेका । कोही खाटमा पल्टिएका छन् । कुनैकुनै महिलाको छेउमा जुँगामुठे लोग्नेमान्छे पनि छन् ।
छ–सात मिनेट हिँडेपछि मलाई एउटा घरभित्र लगियो । दुई–तीन गेट पार गरेपछि एउटा साँघुरो अँध्यारो कोठामा लगेर हुत्याइदिए । बाहिर एउटा बाथरुम देखिन्थ्यो । एक छिनपछि चारजना महिला म भए ठाउँ आए । खासखुस गर्दै आँखा पनि सन्काइरहेछन् । पछि थाहा पाएँ, उनीहरू मेरो मोलतोल गर्न आएका रहेछन्, नेपालीमै कुरा गरिरहेका थिए । सोधेँ– मलाई लिएर आउने दाइहरू खोइ ? ‘बजार गएका छन्, भोलि आउँछन्’, उनीहरूले आश्वासन दिए । एक घन्टाजति बसे मसँग । पटकपटक भन्दै थिए– ‘अब तिम्रो जीवन बन्ने भयो ।’
त्यहाँ लगिएका केटीको मुहारको मोहडाअनुसार कपाल काटिदिँदा रहेछन् । मैले सकेसम्म मानिनँ । तर, के जोर चल्थ्यो र ? काटिछाडे । मलाई नुहाउन लगे । मैले आफैँ नुहाउँछु भनेँ । भकभक उम्लिरहेको पानी देखाएर ‘खुब चलाख बन्न खोज्दिरहिछ, आफैँ नुहाउने भए यसैले नुहा, नभए हामीले भनेको मान्’ भन्न थाले ।
सुनेकी थिएँ– बम्बईमा महिलाको इज्जत पुरुषले लुट्छन् तर यहाँ त मलाई ती मोटामोटा आइमाईले मेरो इज्जत लुटेको अनुभूति हुँदै थियो । मेरा सबै कपडा निकालिदिए, च्यातिदिए । मेरो शरीरमा कसैले पहिलोपटक हात चलाइरहेको थियो । कसैले समाते, कसैले पानी हाले । ती चारवटी थसुल्लीले मलाई नुहाइदिए । उनीहरूकै कपडा लगाइदिए । शरीर मेरो थियो तर मेरै नियन्त्रणमा थिएन । ‘तँलाई भोलि दश बजे दाइहरू लिन आउँछन्’ भन्दै मलाई कोठामा थुनेर उनीहरू गए ।
खाना ल्याइदिए, खानै मन लागेन । मलाई राखिएको कोठाबाट बाहिर केही देखिँदैनथ्यो, दिन हो कि रात † धेरै सोचेँ । निर्णयमा पुगेँ– कसैलाई शरीर सुम्पिनुभन्दा अघि नै मर्छु । आत्महत्याको प्रयास गरेँ तर सकिनँ । मर्न धेरै गाह्रो हुँदो रहेछ । निरीह भएर हात जोडेँ– भगवान् अब तिमी मात्र मेरो सहारा छौ ।
भोलिपल्ट ती केटाहरू आएनन् । मलाई त्यहीँ राखियो । दुईवटी केटी आएर सोधे– ‘खाना खाएनौ, कस्तो पागल आइमाई रहेछ †’ बेचिएका सबैलाई ‘आइमाई’ भन्दा रहेछन् त्यहाँ । बिहान एघार नम्बर गल्लीमा लिएर गए, एक–दुई घन्टा फ्रेस हुन भनेर । किनेको मान्छेको मोलतोल नहुन्जेल र दलाल त्यहीँ हुँदासम्म राख्ने ठाउँ रहेछ त्यो, पछि थाहा पाएँ ।
अब म पसलमा राखिएकी सामानजस्ती भएकी थिएँ, मेरो मोलतोल हुँदै थियो । पहिलो दिन ६५–७० वर्षको अरबीले ममाथि गिद्धेदृष्टि लगाएछ । मलाई भित्र लिएर गयो तर उसले भनेको मानिनँ । पिटेर पठाएँ । ऊ ऐया, आत्था गर्दै निस्कियो । ‘बाई’ आएर मलाई गाली गर्न थाली । पिट्नचाहिँ पिटिन । कारण– त्यो अरबीले पैसा भने फिर्ता मागेनछ । पैसा फिर्ता गर्नुपरेको भए मलाई नमज्जाले पिट्ने रहिछे । मैले उसको कुरा नमानेपछि गुन्डा लगाई । चारजना भुसतिघ्रे आएर कोठाको चुकुल लगाए । कसैले मेरो खुट्टा समाते, कसैले कपाल । सब थोक लुटे, मेरो कुमारीत्व एकैछिनमा क्षतविक्षत पारे । पीडाले बेहोस भइछु । होसमा आउँदा मेरो तन्ना, कपडा सबै फेरिएका रहेछन् । ६ महिनासम्म साह्रै गाह्रो भयो । निस्केर जाने कुनै उपाय थिएन । एउटै आश थियो– एक दिन त घर जान पाइएला † भनेको नमान्दा कुटाइ खानुपथ्र्यो । गाली मात्रै पनि सात पुस्ताको धर्म नासिने खालको हुन्थ्यो ।
अब त्यहाँ घुलमिल नभई सुखै थिएन । कि त मर्नैपथ्र्यो । बिस्तारै भाषा सिकेँ, वातावरण बुझेँ, आउने ग्राहकसँग कुरा गर्ने भएँ । सिन्धुपाल्चोककी सिधासाधा चरीमायासँग वेश्यालय पुगेपछि अब आफ्नो मौलिक पहिरन मात्र होइन, बाबुआमाले दिएको नाम पनि थिएन । अस्मितासँगै चाहना र पहिचान पनि गुम्यो । ‘चरीमाया’लाई वेश्यालयले ‘अनु’ बनायो ।
सबै ग्राहक यौनप्यास मेटाउनै आउँछन् भन्ने थिएन । कतिजना कुरा गरेर मात्र जान्थे । कतिले मलाई व्यक्तिगत रूपमा पनि पैसा दिन्थे । म बसेको कोठीमा नेपाली ग्राहकलाई अनुमति थिएन । मलाई अरबीले बढी मन पराउँथे । त्यसैले मेरा प्राय: ग्राहक अरबी नै हुन्थे ।
असी वर्षसम्मको ग्राहक भेटेँ कोठीमा, त्यो बूढो पनि अरबी थियो । शरीरिक रूपमा कमजोर भए पनि उनीहरू आउँथे । पैसा खर्च गर्थे अनि कुराकानी गरेर जान्थे । हेर्दै घीनलाग्दा रोगीलाई उनीहरूले बाईलाई तिरेको पैसा फिर्ता गरिदिएर पठाइदिन्थे । बाईलाई जसरी पनि पैसाको मतलब न हो †
बेलाबेला बाहिरका मान्छे शृंगारका सामान, कपडा, खाना लिएर बेच्न आउँथे । ती मान्छे बाईका विश्वासिला मात्र हुन्थे । नेपालीले नै हामीलाई बढी ठग्थे । तिनीहरूको एउटा लिपिस्टिक मात्र प्रयोग गरेँ मैले । गाजल, साबुन, मन्जन सधैँ आउने ग्राहकले ल्याइदिन्थे ।
म बेचिएको कोठी महँगो थियो, आफ्नै खालको अनुशासन पनि । अप्राकृतिक सम्बन्ध गर्न पाइँदैनथ्यो । एक घन्टाको २५० अनि अलि बढी बसे ५ सय रुपियाँ रेट थियो । पूरै रातको चाहिँ ८०० रुपियाँ तिर्थे । मलाई धेरैजसो बाहिर पठाउँथे । कहिले त एक महिनासम्म पनि बस्नुपथ्र्यो, ग्राहककै ठाउँमा । बाहिर जाँदा कोठीमा भन्दा अलि सजिलो हुन्थ्यो । कुनैकुनैले त दुई–तीनजना पनि लिएर जान्थे । उनीहरूको चाडबाडमा कसले राम्री केटी ल्यायो र कति खर्च गर्‍यो भनेर प्रतिस्पर्धा हुन्थ्यो ।
कोठीमा पनि कसले धेरै ग्राहक रिझायो भनेर प्रतिस्पर्धा हुन्थ्यो । धेरै बुहारी भएको घरमा कुशल बुहारी बन्ने प्रतिस्पर्धाजस्तो † जसले धेरै ग्राहक रिझायो, उसैलाई बाईले माया गर्थी ।
मलाई लाग्यो– नआउनु आइसकेपछि अब यहाँको सबै परिस्थिति बुझ्नुपर्छ । ताकि निस्कन पाएको अवस्थामा केही गर्न सकियोस्, नेपाल पुगेर मलाई यो अवस्थामा ल्याइपुर्‍याउनेलाई ठेगान लगाउन पाइयोस् । बिस्तारै म बाईको विश्वास पात्र भएँ । बाई आफ्नो ठेगाना त भन्थी तर सँगै फोटो खिचाउन मान्दैनथी । तर, मैले ऊसँग फोटो खिचाएरै छाडेँ । एक दिन मलाई लैजाने अरबीले बोलाएको छ भनेर उसलाई होटलमा बोलाएँ । अरबीलाई मिलाएर फोटो खिचिदिन पहिल्यै भनेँ । चिया खाँदै गर्दा उसले फोटो खिचिदियो । विस्तारै म नयाँ केटीको डिल गर्न पनि जान थालेँ । त्यही क्रममा नौजना दलालको पनि फोटो खिचेकीे थिएँ । यति बेला मसँग क्यामेरा थियो, त्यही अरबीले दिएको ।
दलाललाई तिरेको पैसा उठाएपछि कतिलाई राम्रैसँग पठाउँदा पनि रहेछन्, घरपरिवारको मान्छेलाई समेत कपडा–गहना दिएर । मलाई पनि तीन वर्षमा पठाउँछु भनिएको थियो । यसै बिग्रिसकेपछि मलाई त्यहाँ बसेर अझै धेरै बुझ्न मन थियो– कमाउँला वा ग्राहककोमा जाउँला भनेर होइन, मलाई बेहोस बनाएर बेच्ने दलाल र मेरो शरीर क्षतविक्षत बनाउने त्यही कोठीलाई ठेगान लगाउन सकियोस् भनेर ।
तर, भारत सरकारले कोठीमा छापा मारिदियो । त्यही बेला म पनि निस्किएँ । आउँदा मेरो खुट्टामा चप्पल थिएन, भात खाँदै गरेको जुठै हात थियो । आफ्ना अलिअलि सामान पनि निकाल्न पाइनँ । अरबीले दिएको क्यामेरा पनि ।
कुनै दिन निस्किउला भन्ने त थियो नै । तर, जे नहुनु भइसकेको थियो । अब लक्ष्य एउटै थियो– नेपाल पुगेर ती राक्षसलाई सजाय दिलाउनु, जसले आफ्नै रनवनमा रमाइरहेकी कञ्चन चरीमायालाई वेश्यालयमा अस्मिता लुटिएकी ‘अनु’ बन्न बाध्य बनाए ।
मनमा ईख थियो, मलाई दुरूह दिन्दगी दिलाउनेहरूप्रति । जति रुनु रोइसकेकी थिएँ । लुटिन र सकिन बाँकी के पो थियो र अब ? त्यसैले नेपाल आएपछि आफ्नो आँसु कसैलाई देखाइनँ । बरु ती दलालहरूलाई कारबाही गराउने उपाय खोज्न थालेँ, साहस बटुलेर । अदालत र प्रहरीको ढोका घचघच्याएँ । साथ पनि पाएँ । उनीहरू पक्राउ परे । मुख्य नाइके दश वर्ष जेल बसेर भर्खरै निस्कियो क्यारे † प्रण गरेकी छु– नेपाली नारीहरूलाई मुम्बईको ‘नरक’ मा पुर्‍याउनेहरूको चंगुल ध्वस्त बनाएरै छाड्नेछु ।

Adopted from: Sourya Daily

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here