छोरीलाई तिजको शुभकामना, पुतली होइन मान्छे बन

0
23

१९ अगष्ट २०१२

प्यारी छोरी मानबी  !

आरम रही आराम चाहन्छु । छोरी तिजको चाड सुरु भयो । टिभी च्यानलहरुमा राताकपडा लगाएका महिलाहरु नाचेका दृष्यहरु देखिइरहेका छन् । महिलाको चहलपहल बढीरहेको छ । राजनीतिक दल देखि ब्यवसायीहरुले तिजको अवसरको फाइदा लिन कस्सिएर लागेका छन् । तिजका गीतमा रंगीचङ्गी कपडा र गहना लगाएका महिला नाचेका दृष्यहरुले मेरो मनमा हाम्रो परिवार र बिशेषत तिमी नाचेकी छौ । तिमीलाई थाहा छैन तिम्रा फुपु तथा मेरा दिदीबहिनी नभएर बिगतमा हरेक तिज र भाइ टीकाहरु खल्लो हुने गरेका थिए । यी चाडहरुमा परिवारमा खुशियाली आउँदैन्थ्यो निरासता छाउँथ्यो । तिम्रो हाम्रो  परिवारमा आगमन पछिका तिज र तिहारहरुमा रमाइलो भित्रिएको छ । यो तिजमा तिमी घरमा आउने नआउने मलाई जानकारी त तिमीले गराएकी छैनौ । मैले पनि तिमीलाई घर आउ भनेर कर गर्ने पक्षमा छैन । तिमी भविष्यको गोरेटो बनाउने क्रममा छौ । भविष्यको बाटो निर्माण गर्ने क्रममा तिमीले यस्ता केही चाडहरुमा रमाइलो भन्दा पनि मेहनतमा नै लाग्नुपर्ने हुन सक्दछ । घरमा आए पनि किन आएको भनेर भन्न बाबुको मनले भन्न सक्ने छैन ।

मानबी, मेरो विचार र सोचाइ सँग तिमी सहमत हुनै पर्छ भन्ने छैन । कहिले काँही मेरो विचार र सोचाइमा तिमीलाई ल्याउन बाध्य त बनाइन भन्ने डर पनि लाग्दछ । म र मेरो विचार नै ठीक छ भनेर म आफै त पुर्ण विश्वस्त छैन भने मेरा बिचार किन तिमीमा लाद्ने  । आज ठीक भनेका सोचाइ र मान्यताहरु भोली असत्य ठहरिन सक्दा रहेछन् । मेरै जीवनमा कति अकाट्य भनेका कुरा गलत रहेछन् भन्ने ठानी सकेको छु । कति पटक तिम्रो दाजु र तिमीले मैले मेरा कुरा गर्दा बुवाका थोत्रा कुरा भनेर भनि पनि सकेका छौ । हुन पनि हो  म कहाँको बिसौ शताब्दीको उत्तरमध्यमा जन्मे, हुर्केको मान्छे कहाँ तिमी एक्कइसौ शताब्दीकोको सुरुको दशकमा हुर्केको मान्छे । मेरा विचारले तिमीलाई मार्ग दर्शन गर्न सक्ने त कुरै भएन  । यो कुरा जान्दा जान्दै बाबुको मनले छोरीलाई सम्झाउनै खोज्दो रहेछ ।

मानबी, मैले तिम्रो नामको पछाडि किरण जोडि दिएको थिए । पछि मैले थाहा पाए तिमीले किरण छाडेर पौडेल जोडिछौ । मैले तिमीलाई सोध्दा तिमीले मलाई वास्तविकता बतायौ ।  बिध्यालयमा सर मेडमहरुले किरण पनि थर हुन्छ भनेर गिज्याउँनु भएछ तिमीले हाम्रो पारिवारिक थर पौडेल नाम पछाडि जोडिछौ र मलाई मन परेको किरणलाई तिलाञ्जली दिइछौ । मैले तिम्रो कपाल छोटो पारेर छोराकै शैलीमा काटि दिने गरेको थिए । १२ वर्षको उमेर तिर तिमीले कपाल लामो पारेर पाल्यौं । मेरो जिज्ञासामा तिमीले  आमासँग हिड्दा धेरै पटक छोरा भनेर सोधेको मन नपरेको र कपाल लामो पालेको कुरा गर्यौ म चुपचाप भए । म पनि कपाल लामो र छोटोले फरक पार्दछ भन्नेमा त होइन तर समाजले छोरीलाई बनाएका असमानता मैले किन सिकाउने भन्ने उद्देश्यले र कपाल मिलाउन समय धेरै लाग्ला, कपालले तिमीलाइ खेल्न, उफ्रन र दौडन अल्झाउला भन्ने डरले थियो । तिम्रा कान र नाक छेड्न नदिएको विषयमा हाम्रो परिवारमा मैले धेरै पटक स्पष्टिकरण खानु पर्यो  । आफ्नी आमाको मन दुखाउनु समेत पर्यो । थारै सुनका गहना बनाउनको कन्जुसाइले नाककान नछेडेको आरोप पनि सहनु पर्यो । नाक कान छेड्दैमा केही फरक परिहाल्ने पनि होइन । मैले परम्परा थोपरेको प्रमाण तिम्रो शरीरमा छाड्न चाहन्नथेँ । मैले भन्ने गरेको थिएँ, पछि बुझ्ने भए पछि नाक कान छेड्न पनि सकिन्छन  नछे्ड्न पनि सक्छिन् । नाक छेडे पनि, इच्छा भए गाला, चिउडो,आँखिभौ र नाइटो छेड्न पनि स्वतन्त्रता  हुन्छ तर छेडेको प्वाल टाल्न कठिन हुन्छ भन्ने सोचाइ म मा थियो । एक पटक तिमीले पाँच छ बर्षमा नै सवैले गिज्याएर होला सायद कानको लोतीमा तिखो चिजले घोचिछौ । रगत बग्यो, सानो घाउ पनि भयो म दिक्क  भए ।  अहिलेसम्म पनि तिमीले नाककान छेडेको र गहना लगाउछु भनेको सुनेको छैन । तिमीले सोधेमा मेरो जबाफ  हुनेछ, अव यस विषयमा तिमी स्वतन्त्र छौ । कपडा पनि मैले तिमीलाई केटाका सरह छाने । हो मलाइ थाह छ कि कपडा ब्यक्तिको इच्छा अनुसराको कुरा हो । मैले तिमीलाई केटासरह कपडा छान्नुको मुख्य कारण तिमी लैङ्गिक रुपमा बाहेक दाइ सरह हो भन्ने सोचाइको विकास गराउन चाहन्थे । अर्को कपडाको कारण तिमीलाई उफ्रन दौडन र खेल्न कठिन नहोस भन्ने पनि चाहन्थेँ । कलेजमा भर्ना गर्ने बखत तिमीलाई लिएर तिम्रो दाइ र म तिम्रो लागि कपडा छान्न डिपार्टमेण्टल स्टोरमा पुगेपछि कपडा छान्ने क्रममा तिमी अलमलमा पर्यौ । म केटासरहको कपडा छान्न सहयोग गर्ने बाबु पनि त्यही थिए र कलेजको भरखरको अनुभब भएको दाजु पनि त्यही थियो । दाजुले भन्दै थियो कलेजमा र्याकिंग गर्दछन् । केटीका जस्ता अझै आधुनिक र युनिक भनेर सल्लाह दिदै थियो । तिमीले जिनको पाइण्ट बाहेक सर्ट र अन्य लगाउने कपडा छान्न सकिनौ । मैले कपडा छान्न स्वतन्त्र छौ भने पनि सायद तिमीमा मेरो प्रभाव थियो र दाजुको कलेजमा हुने  र्याकिंगका कुराले पनि तिमी डराएकी थियौं ।

छोरी तिमी अव आफ्नो बाटो आफै हिड्दै छौ । तिमी वास्तबिक स्वतन्त्र हुन र आफ्ना खुट्टामा उभिने अभ्यास गर्न घरबाट टाढा डेरा गरेर बस्नु पर्ने स्थानको कलेज छानेकी छौं । तिमीले समयलाई ब्यवस्थापन गर्न सक्नु पर्ने छ । खाना पकाउने, भाँडा माज्ने, कपडा धुने पढ्ने कार्यको लागि सन्तुलन मिलाउनु पर्ने छ । तिम्रा अगाडि अवसर पनि छन् र त्यत्तिकै चुनौति पनि छन् । कलाकार दिदीहरु देखेकी छौ ती नाचेको गाएको रमाइलो गरेको देख्दै छौ, तर तिमीले तिनै दिदीहरुले कलाकार बन्न गरेको कठोर मेहनत देख्न पाएकी छैनौ । पत्रकार, मेडियामा काम गर्ने  दिदीहरुले गरेको रमाइलो ठट्टा, पत्र पत्रिकामा र मेडियामा छाएको त देख्छ्यौ तर उनीहरुले त्यहाँ पुग्न गरेको संघर्ष नजिकबाट बुझ्ने मौका तिमीलाई दिएकै छैन । जुन्को ताबेइ, पासाङ्ग ल्हामु, मेडमक्यूरी, भेलेन्तेना तेरोस्कोभा, मदरटेरेसा, तसलिमा नसरिन जस्ता नाम त मैले तिमीलाई धेरै पटक सुनाए तर ती महान महिलाहरुले त्यो ठाउँमा पुग्न गरेको त्याग तपस्या हिडेको कठोर बाटो मैले कसरी बुझाउने ? आफै त बुझेको छैन ।

मैले तिमीलाई र तिमी जस्ता धेरै बिध्यार्थीहरुलाई कक्षामै पुगेर मान्छे रुप, रङ्ग, जाति, लिङ्गले सानो ठूलो बन्दैन । आँखा, गाला, ओठ पोतेर, कपाल रंङ्गाएर, शरीरका गोप्य अंग देखाएर होइन चेतनालाई खारेर मान्छे माहान बन्ने हो । संसारको कुन कुनामा हजारौ बर्ष पहिला जन्मेको सुकरातलाई अहिले सम्म हामीले सम्झनुको कारण उनको रुप होइन, उनी निकै कुरुप थिए । शरीर देखाएर सम्मान पाइने भए पारिजात र झमक कुमारीलाई कसैले नाम लिदैनथे । तिमीलाई यी कुरा कति मार्मिक लागेका छन् । राम्राकुरा छ्यापछ्याप्ति पाइदैनन् । लगातारको कठोर मेहनतबाट मात्र भेट्न सकिन्छ भनेर धेरै पटक भनेको पनि छु । यी कुरा कति सत्य छन् तिमीले केलाउनु पर्ने बेला आएको छ । तिमी अव तिम्रो वरिपरिको बातावरणमा अलमलमा पर्न पनि सक्दछ्यौ ।

छोरी तिमीमा अव यौन इच्छाहरु पलाउन सक्दछन् । नियन्त्रण नगरेमा यौवनले सताउन पनि सक्दछ ।  तिम्रा केटा साथीहरुले पनि तिमीलाई गिजाउन खोज्ने छन् । तिम्रो मन पनि के गरौ के नगरौ अलमलमा पर्न सक्ने छ । तिमीले यदि लुकिचोरी यौन इच्छा मेटाउने प्रयत्न गर्यौ भने त्यो तिमीलाई घातक हुन सक्दछ । एकातर्फ एड्स लगायतका यौनबाट सर्ने रोगहरु लागेर जीवन नै नष्ट हुन सक्दछ भने अर्को तर्फ तिमी कठोर मेहनतबाट प्राप्तहुने आनन्द अनुभूती गर्नु भन्दा बेमौसमी काँचो फलको चक्करमा फस्नै छौ । समाजमा तिमीप्रतिको विश्वास घट्ने छ । स्वाबलम्वी बन्ने लक्ष्य प्राप्त गर्न  सफल हुने छैनौ । मान्छैहरुले आफ्नो स्वार्थको लागि जस्तो सुकै स्वाङ्ग पार्दछन, बास्तबिक राम्रो मान्छे छान्न कडा परीक्षाको आवश्यकता पर्दछ । पैसाको लागि जे पनि गर्ने समाजका अपराधीहरुको लहैलहैमा लागेर स्मरण शक्ति बढाउने, स्फुर्ती बढाउने, मेहनत बिना सफल बन्ने कुरामा विश्वास मान्यौ भने, लठ्ठीएर आनन्द लिने सोचमा लाग्यौ भने तिमी शहरबजारका धेरै युवा युवती जस्तै जीवनमा झुक्कियौ  र लागुपदार्थको कुलतमा फस्यौ भन्ने जाने हुन्छ । फसेपछि तिमीले  निस्कने कल्पना नगरे हुन्छ । जीवन अब बोझ भयो र जम्मा आठ दश बर्षमात्र बाँकी छ भन्ने जानेर एकान्त कोठामा बस्न सुरु गरे हुन्छ । साथीहरुले आधुनिक बन्ने बहनामा गलत बाटो हिड्न प्रेरित पनि गर्ने छन् ।

तिमीलाई अव यो गर, यो नगर, यो गलत हो , यो सही  हो भनेर पटक पटक सम्झाउने मान्छे हुने छैन । हरेक मोडमा तिमी आफै निर्णयमा पग्नु पर्ने छ । तिमी महिला सधै अर्काको नियन्त्रमा रहने परम्पराबाट सारै रुष्ट पनि छौ । समाजले भनेका कुरामा तिमीले बिद्रोह पनि गर्नें गरेकी छौ । मैले सुनेको थिए तिमीले रजस्वला नहुदै म रजस्वला भएको बेला जुवाछुत मान्दिन, बेग्लै बस्दिन भनेर हजुर आमा र आमासँग प्रतिबादमा उत्रेकी थियौ । म तिम्रा कुरा खुसुक्क  सुनेर खुशी भएको थिए । मन मनै सुदुर पश्चिमा भएको छाउपुडी प्रथाको बिरोध गर्ने आफ्नै घरमा मान्यता दिने कुरा ठीक हो  भनेको थिए ।  तर पहिलो पटक रजस्वला हुँदा तिमी बिध्यालय समेत नगई कोठाम बस्यौं । खै के ले ? तिम्रो बिद्रोहलाई कमजोर बनायो । सत्यको बाटो कठोर छ ।

तिमीलाई मैले विभिन्न विद्धानहरुले भन्ने गरेको  सक्छु भनेर लक्ष्य बनाइ आत्मविश्वासका साथ निरन्तर लागि परेमा जस्तो सुकै ठूला लक्ष्य पनि प्राप्त गर्न सकिन्छ । सक्दिन भन्यौ भने त्यो पनि सत्य हो, सक्दिन भन्ने सोचाइले तिम्रो आगाडि ठूलो प्रखाल खडा हुन्छू  भनेर धेरै पटक सुनाउन त सुनाए तर बुझाउन भने सके कि सकिन ? ब्यापारीको ब्यापार बढाउने बिज्ञापनको पछाडि र सतही कुराको पछाडि लाग्यौ भने तिमी समुद्रको गहिराइमा पुगेर मोती टिप्न सक्ने छैनौ । तिमी गरेर खाने आफ्नै खुट्टामा उभिने स्वावलम्वी र पहिचान भएकी छोरी बन्न निकै मेहनतको आवश्यकता छ ।  तिजमा पनि तिमी रङ्गी चङ्गी कपडा र गहनामा सजिएकी पुतली होइन आफ्नो लक्ष्य प्राप्तिको लागि अडिग यात्री बन । जस्तो सुकै हुरी बतास र संकटमा पनि अस्तित्व जोगाउन सक्ने बिबेकशील छोरी बन, स्वास्थ्यको ख्याल राख । यही मेरो तिजको शुभकामना । बाबाको थोत्रो विचार नभन्नु ल

तिम्रो बाबा
रमाकान्त शर्मा

( कालिका एफएम बाट  साभार गरिएको )

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here