दलालमा निर्भर हुंदा ब्यवसायी बदनाम

0
20

१८ अगस्त २०१२
काठमाडौं ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले दलालमा निर्भर रहेकाले म्यानपावर व्यवसायीहरू बदनाम हुँदै गएको बताएका छन्। विदेशबाट मागपत्र ल्याउनेदेखि गाउँगाउँबाट काठमाडौंसम्म कामदार ल्याउन दलालको प्रयोग हुँदा यो व्यवसाय नै बदनाम भएको उनले बताए।
वैदेशिक रोजगार व्यवसायीलाई पेसागत तथा व्यावसायिक विकास तालिम दिन आयोजित कार्यक्रममा भट्टराईले यो क्षेत्र सुधारका लागि शाखा कार्यालय र एजेन्ट नियुक्ति अघि बढाइएको जानकारी दिए। ‘एक दलालबाट अर्काे दलाल हुँदै कामदार गाउँबाट काठमाडौंसम्म आइपुग्छन्,’ उनले भने, ‘उनीहरूले दलाललाई तिर्दातिर्दै ठूलो रकम खर्चभइसकेको हुन्छ, यसमा ठगीको सम्भावना पनि बढी हुन्छ,’ उनले भने, ‘विदेशबाट मागपत्र ल्याउनसमेत त्यहाँको दलालमा निर्भर हुन्छ, यस्ता झोले व्यवसायीलाई व्यवसायीले नै रोक्नुपर्छ।’
झोले व्यवसायी र दलालमा निर्भर रहेकाले पनि म्यानपावर व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको भट्टराईले बताए। व्यवसायीले राम्रो र नराम्रो दुवै कामको जिम्मेवारी लिनुपर्ने भनाइ उनको थियो। विभागले व्यवसायीप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सुधारको कार्यक्रम सुरू गरेको पनि उनले बताए। ‘केही व्यवसायी जे पनि हुन्छ, जसरी पनि हुनैपर्छभनेर आउँछन्, यस्तो मानसिकता हटाउनुपर्‍यो,’ भट्टराईले भने, ‘यो पुगेन भन्यो भने कतारमा हुनुपर्ने कागजपत्र एक घण्टाभित्र विभागमा ल्याएर पेस गर्छन्, यो कसरी सम्भव छ? यो त सोझै नक्कली कागजपत्र भएन र? यस्तै कामले व्यवसायीको बदनाम भइरहेको छ।’
आफू केही समयअघि मलेसिया जाँदा त्यहाँ दलाललाई बढी कमिसन तिरेर नेपाली व्यवसायीले माग लैजाने गरेको पाएको उनले बताए। ‘त्यहाँका दलालले नै नेपाली व्यवसायीले बढी कमिसन तिर्न प्रतिस्पर्धा गरेका कारण त्यहाँका दलाल मोटाएका छन्।’ झोले व्यवसायी र गैरकानुनी काम गर्नेलाई निरूत्साहित गर्न उनले व्यवसायीलाई आग्रह गरे। विभागले पहिलोपटक १२ म्यानपावर व्यवसायीलाई कारबाही गर्दा ११ वटामा दलालकै गल्ती देखिएको जानकारी उनले दिए। ‘दलालले गल्ती गरे पनि कानुनले म्यानपावर व्यवसायीलाई नै समाउँछ, दण्डको भागिदार हुनैपर्छ’ उनले भने। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले केही व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाका कारण विदेशी एजेन्टलाई बढी रकम कमिसन तिर्नुपरेको र ‘खर्चउठाउन’ कामदारसँग बढी रकम लिनु परेको बताए। ‘यो अस्वस्थ्य प्रतिस्पर्धाले हाम्रो व्यवसाय नै धरापमा पर्छ’ उनले भने, ‘एउटा म्यानपावरले ५ सय रियाल तिरे अर्काेले १ हजार तिर्छ, अर्काेले २ हजार बुझाउँछ,’ उनले भने, ‘हामी व्यवसायी नै मिलेर यो सबै रोक्नुपर्छ।’
व्यवसायी एक भए रोजगारदाताले नै टिकट र भिसा शुल्क तिर्ने तामाङले बताए। ‘यसबाट कामदारलाई पनि आर्थिक भार कम पर्छ’ उनले भने।
तामाङका अनुसार कम्पनी फरक नपर्ने गरी पेसा फरक भए पनि विदेशमा कामदार पठाउनेबारे छलफल भइरहेको छ। ‘वैदेशिक रोजगार ऐनले पूर्वस्वीकृतिका आधारमा पेसा र कम्पनी फरक नपर्ने गरी पठाउन दिएको छ,’ उनले भने, ‘हामी विभागसँग यसैबारे छलफल गरिरहेका छौं, यस्तो हुन सके व्यवसायीलाई काम गर्न बाटो खुला हुन्छ।’

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here