वैदेशिक रोजगारमा सशक्त सूचना प्रणाली निर्माण गरिने

0
19

१२ अगस्ट २०१२
काठमाडौं

सरकारले वैदेशिक रोजगारमा बढी कामदार जाने मुलुकमा सशक्त सूचना प्रणाली निर्माण गर्ने भएको छ । कामको खोजीमा विदेशको रोजगारमा जानेले बढी दुःख नपाऊन् भन्नका लागि सशक्त सूचना प्रणालीको विकास गरिन लागेको हो ।
वैदेशिक रोजगारमा सबैभन्दा बढी कामदार जाने प्रमुख ४ गन्तव्य मुलुक कतार, मलेसिया, साउदी अरेबिया र युएईमा पहिलो चरणमा सूचनाको सञ्जाल बढाउने सरकारी योजना छ । यसका लागि श्रम मन्त्रालयले परराष्ट्रसँग समन्वय गर्ने भएको छ । श्रम मन्त्रालयस्रोतका अनुसार मुलुकको अर्थतन्त्र धानिरहेको भए पनि कामदारको सुरक्षामा यथेष्ट सूचना प्रणाली पाउन नसक्दा समस्या बढिरहेको छ ।

विशेषगरी कामदारले स्वदेशमा भनेजस्तो काम र दाम पाउन नसक्नुमा सरकारी सयन्त्रको कामसँगको दोहोरो संवाद हुन नसक्नुलाई न्यूनीकरण गर्न सूचना प्रणाली बलियो बनाउनुपर्ने अवस्था आएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारमा सुधार ल्याउन सूचना प्रणाली पनि मजबुत हुनुपर्ने मान्यता सरकारको भएको बताए । ‘वैदेशिक रोजगारमा सरकारले पनि सुधार गर्न चाहिरहेको छ,’ उनले भने, ‘व्यवसायी पनि सुधारका लागि मानसिक रूपमा तयार हुनुपर्ने समय आएको छ ।’

व्यवसायी भने सरकारले एकतर्फी रूपमा अघि बढ्दा त्यसले तत्कालका लागि लोकपि्रयता लिए पनि कार्यान्वयन पक्ष जटिलतातर्फ जाने जिकिर गरिरहेको छ । नेपाल वैदेशिक रोजगार वयवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले सरकार वैदेशिक रोजगारका क्षेत्रमा कार्यान्वयन हुनेभन्दा पनि लोकपि्रय हुने ढंगले अघि बढिरहेको बताए । ‘अब सबैले काम देखाउने समय आएको छ,’ उनले भने, ‘व्यवसायी आफ्नो कमजोरी सच्याउन तयार छन् ।’ सरकारी पक्ष भने सूचना प्रणालीमा मात्र नभएर जुनसुकै कार्यमा पनि व्यावसायिक नेतृत्व सक्षम ढंगले अघि बढ्न नसकेको गुनासो गरिरहेको छ । मन्त्रालयका एक उच्च अधिकारीले व्यावसायिक नेतृत्वले सरकारसँग वार्तामा बस्दा एउटा भाषा र व्यवसायीसँग अर्काे भाषा बोल्ने गर्दा समस्या बढिरहेको बताए ।

उनले सरकारसँग लिखित सहमति गरेको विषयमा पनि व्यावसायिक नेतृत्वले अडान कायम गर्न नसकेको आरोप लगाए । ‘सूचना प्रणालीमा पनि व्यावसायिक नेतृत्वले दोहोरो चालबाजी गर्नुभएन,’ उनले भने, ‘सूचना प्रणालीको व्यवस्थापन व्यवसायीसँगको सहकार्यमा हुनेछ ।’ वैदेशिक रोजगारमा जाने कामदार भने सूचना प्रणालीको अभावमा विदेशमा कामदारले बढी ‘तनाव’ भोग्नु परिरहेको गुनासो गर्छन् ।
मलेसिया रोजगारमा गएका झापाका मनोज दाहालले लागत शुल्क बढी लिएर कामदार आउँदा पनि उजुरी गर्न नसक्नुमा सूचनाको अभाव भएको जिकिर गरे । उनले व्यवसायी नेतृत्वकर्ताबाट नै मलेसिया पठाउँदा १ लाखभन्दा बढी रुपैयाँ असुलेकाले त्यसलाई सार्वजनिक गर्न मलेसियामा कार्यरत नेपाली कामदारले योजना बनाइरहेको नयाँ पत्रिकालाई जानकारी दिए ।

संघका पूर्वअध्यक्ष प्रेम कटुवालले सरकारी सयन्त्रले व्यावसायिक नेतृत्वले कमजोरी देखाए पनि सम्रग व्यवसायी सुधारको पक्षमा रहेको बताए । उनले व्यवसायीहरू सदैव पारदर्शितामा विश्वास गर्ने भएकाले सरकारले पनि सीमित व्यवसायीलाई ‘बन्द कोठा’मा बोलाएर सहमति गर्नुभन्दा सुधारका एजेन्डाबारे बहस सञ्चालन गराएमा त्यसको प्रतिफल बढी आउने जिकिर गरे ।

( नया पत्रिकाबाट साभार )

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here