नमस्ते नेपालद्वारा सप्लाईमा पठाइएका नेपाली श्रमिकहरुले तलब नपाएको

0
38

तिल विक्रम थेबे ,दोहा ,कतार

नमस्ते नेपालले गतसालको अक्टोबर महिना देखि सप्लाईमा टाइसीर  कम्पनीमा सेक्युरिटीको  कामगर्न पठाएका धेरै नेपालीहरुले तलब पाएका छैनन । २५० जना भन्दा बढी कामदारहरुलाई टाइसीर  कम्पनीमा नमस्ते नेपालले पठाएको थियो ।उनिहरु मध्येहरुका जुलाई महिना देखि आफ्नो बाँकी रहेको तलब दिलाई पाउन नेपाली दुताबासमा सहयोगकालागि धाएका धाएकै छन भने उनीहरुलाई सप्लाईमा पठाउने नमस्ते नेपालका सरोज पुडासैनीले तलब दिन आनाकानी गरिरहेको पीडित कामदारहरुले बताएकाछन् ।

पीडित कामदारहरुका अनुसार जुलाई ४ मा दूताबास जाँदा नमस्ते नेपालका सरोज पुडासैनिले एक दुई दिनभित्रै सबैको बाँकी तलब दिएर समस्या समाधान गरिदिने भने पनि आज सम्म ज्यूँ  का त्यूँ रहेको छ ।कोहिले बाँकी तलब पाए पनि कतिले आफ्नो तलब नपाएको गुनासो पीडितहरुको छ ।पीडितहरुका अनुसार आज भोलि भन्दै सरोज पुडासैनीले तलब बाडीदैछ टाइसिर  अफिसमा जानु भन्दै ढाँटेर आफुहरुलाई झुलाएको, दूतावासलाई समेत त्यहि जानकारी दिँदै झुठो बोलेको र दूतावासबाट उनीहरुका बाँकी तलब दिन बारम्बार अनुरोध गर्दा पनि आलटाल गरिरेहको जनाएका छन् ।आफ्नो बाँकी तलब भराई पाउन दूताबास गएका मध्ये कामदारहरु काठमाण्डौ कपनका बलराम शाक्यले तीन महिनाको तलब पाएका छैनन् त्यसै गरि नेपालगञ्जका प्रेम लामाले दुई महिनाको ,सल्यानका सन्तोष कुमार रानाले अढाई महिनाको, भोजपुरका पासाङ गुम्बा शेर्पाले अढाई महिनाको , सुर्खेतका रमेश बि.क.ले दुई महिनाको ,बर्दियाका मोहनलाल पाण्डेले दुई महिनाको , सिन्धुलीका दिननाथ देबकोटाले दुई महिनाको तलब पाएका छैनन् ।यसबारे नमस्ते नेपालका ब्यबस्थापक सरोज पुडासैनिसंग यथार्थ कुरा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । पीडित कामदारहरु नयाँ एअरपोर्ट देखि दूताबास सम्म पैदल हिडेर आफ्नो तलब भराई पाउन गत जुलाई देखि नै दुताबासको सहयोग मागे पनि दूताबासले शुरुमा आफ्नो समस्या त्यति गम्भीरतापुर्बक नलिएको गुनासो गर्दै कामदारहरुले दूताबासले सकारात्मकरुपमा पहल गरिदिए आफ्नो बाँकी तलब पाइने आशा गरेका छन् ।

तलबमा ढिलाइ हुने कारणमा भागेर काम गर्ने कतिपय नेपाली कामदारहरुलाई टाईसिर कम्पनीमा रोजगारीको लागि नमस्ते नेपालले सप्लाईमा पठाएको र ६० दिनको करार सम्झौतामा टाईसिर कम्पनीले कामदारहरुलाई काममा राख्ने गरेको पाइएकोछ  ।उक्त अवधिमा टाई सिर कम्पनि स्वयंले पनि तलब भुक्तानी दिन ढिलाइ गर्ने गरेको छ भने उक्त अवाधिभित्रमा सप्लाईमा काम गरिरहेकाहरुलाई विस्थापन गर्दै आफैले कामदार झिकाएर काममा राख्ने गरेकोले पनि तलब भुक्तानि समयमा उपलब्ध हुन नसकेको पनि स्रोतले जनाएकोछ । नेपाली जनप्रगतिशील मंचका अध्यक्ष रमेश भट्टका अनुसार पिडितहरुलाई तलब दिलाई दिन दूतावासमा  धाइरहेका स्वयं पिडितहरुको उपस्थितिमा दूतावासलाई अनुरोध गरेको र पीडितहरुको तलव तुरुन्तै दिएर समस्या समाधान गरिदिन सरोज पुडासैनीलाई दूतावासले सम्पर्क गरेको छ तर पीडितहरुले  अहिलेसम्म तलब पाएका छैनन् ।

यसैगरी स्रोतका अनुसार एन. आर. एन. ए. एनसीसीका अध्यक्ष अमृत गुरुङ , एनसीसी बैदेशिक रोजगार विभागका बिनोद भट्टराई,दिपक भेटवाल लगायतका प्रतिनिधिहरु पनि दूतावास गएर पीडितहरुको समस्या समाधान गर्न अनुरोध गरेकाछन भने दूतावासले समस्या समाधानार्थ आइतबारसम्म पर्खिने बताएका छन् ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here