तीन मानवतस्कर पक्राउ

१० मे २०१२

काम दिलाइदिने बहानामा युवालाई दुबईसम्म पुर्‍याएर ठगी गर्ने गिरोहका तीनलाई हेटौंडामा प्रहरीले पक्राउ गरेको छ । धेरै तलबको आश्वासन दिएर विदेश पठाउने बहानामा गिरोहले ७६ लाख रुपियाँ संकलन गरेर फरार भएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर–९ बेलीका मनोजसिंह चौहान तथा उनका सहयोगी हेटौंडा–१ चौकी टोलका विजय थापा र हेटौंडा–४ भैरव रोडका सुमन रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू दुबई, क्यानाडालगायत देशमा धेरै पारिश्रमिक आउने काममा लगाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएको युवाले बताएका छन् ।

वैदेशिक रोजगारीका लागि दुबई पुगेका मकवानपुरका २२ युवा ४५ दिनपछि फर्केर प्रहरीमा उजुरी गरेका हुन् । ‘दुबई पनि पुग्यौँ,’ दुबई पुगेर फर्केका हेटौंडा–८ का रिमेच तामाङले भने, ‘हामीलाई त्यहाँ होटलमा राखेर घुमाएर फर्काइयो ।’ कामका लागि दुबई पुगेकाहरू काठमाडौं फर्केपछि फेरि पठाउने भन्दै समूहले होटल भाडामा लिएर राखेको थियो ।

समूहले मकवानपुरका ३२ जनासँग ७६ लाख रुपियाँ संकलन गरेको र युवालाई विदेश पठाउँछु भन्दै काठमाडौं लगेर बिचल्ली पारेको इन्स्पेक्टर मोहन अधिकारीले बताए । मकवानपुरका २२ जनालाई दुबई र १० लाई क्यानडा पठाउने भनेर भैरव रोडका रिजालले पैसा संकलन गरेका थिए । उनले पैसा चौकी टोलका थापालाई दिएको बताए । थापाले आफ्ना भिनाजु चौहानलाई पैसा पठाउने गरेको तर युवालाई विदेश नपठाएको प्रहरीले बताएको छ ।

चौहानले काठमाडौं, बारा र झापामा पनि युवालाई विदेश पठाउँछु भनेर पैसा असुलेर फरार भएको पाइएको इन्स्पेक्टर अधिकारीले बताए । ठगिने युवा हेटौंडा आउने क्रम जारी रहेको र सम्पर्कमा आइरहेको प्रहरीको दाबी छ ।

साभारः  नेपाली बुलेटिन

Print Friendly

Leave a Reply