निला दिदी, ठगी र पत्रकारिता

३० अप्रिल २०१२

विजय पौडेल ।

धेरै पटक समाचारको माध्यमद्वारा होस् या स्तम्भहरुमार्फत, स्वयम् आफूले पटकपटक उठान गरिसकेको विषय उही प्रवासमा नेपाली–नेपालीबीच हुने ठगीकै विषयमा फेरि एक पटक पाठकहरुमाझ आउने प्रयत्न गर्दैछु । हुन त समाजभित्रै विकृति र विकास दुवै भेटिन्छन् । तर, यस पटक उठान गर्न लागेको प्रवासमा भएको ठगीको प्रकृति अलि रोचक र दुःखदायी पनि छ ।

प्रवासमा नेपाली पत्रिका प्रकाशन, त्यो पनि निशुल्क वितरण गरेर पाँच वर्ष गुजारियो । मेहनत त आफूले मनग्यै गर्नुपरेकै छ, तर आफ्नो मेहनतअनुसार प्रवासी समाजले केही सन्तोष र योगदान मानेको छ–छैन, त्यो पाठकहरुमाझ नै अनुत्तरित प्रश्न बनेर बसेको छ । यही मेहनतबीच प्रवासमा पनि घरको चुल्हो त बाल्नै पर्यो । बिहानै झिसमिसेमा आँखा मिच्दै म्यानहाटनमा काममा पाइला टेकेको मात्र के थिएँ, आफ्नो फोनको सम्पर्क सूचीमा नै नभएको नम्बरबाट फोन आयो । एक पटक आयो, उठाउने जरुरी ठानिन । दोस्रो पटक आयो, सोच्न बाध्य भएँ । लगातार तेस्रो पटक पनि आयो, कौतुहल बढ्यो, तर उठाइन । तर, चौथो पटक पनि आयो खुल्दुलीबीच फोन उठाएँ । फोन उठाउनेबित्तिकै एउटा अधबैंसेजस्तो सुनिने महिला आवाज रोदनमिश्रित स्वरमा सुनियो, ‘बाबु तपार्इं विश्व सन्देश पत्रिकाको विजयबाबु हो ?’ मैले तत्काल जबाफ दिएँ, ‘हो दिदी ।’ अन्दाजमै दिदीको साइनो लगाएछु, मलाई पत्तै भएन । उनको रोदनमिश्रित स्वरले यति भावुक भएछु कि आफ्नै दिदीभन्दा कम महसुस भएन ती दिदी मलाई । मैले सोधें, दिदी तपाईं को बोल्नुभएको होला ? के थियो दिदी ? म त काममा पो छु त ? मेरो प्रश्नले महिला आवाज एकछिन रोकियो । तर, एकैछिनमा डाँको छाडेर पो रुन थालिन् ती दिदी । हे भगवान् मलाई त के गरुँ, कसो गरुँ भयो । मैले दिदी के भयो, किन रोएको तपाईं ? किन फोन गर्नुभएको भन्दा ती दिदीको रुवाइ थामिएन । उता, आफ्नो काउण्टरमा ग्राहकको लाइन थापिँदो छ । साहुले घरबाट क्यामरामा हेर्दो हो ? भित्रभित्रै सोच्दैछु । फोन राख्न पनि सक्दिन । मानवीय वेदनाले छट्पटिएको ती दिदीको रोदन रोकिएको छैन । जागिरको चिन्तै नगरीकन ती दिदीलाई बोलाइरहें लगातार दिदी, दिदी भनेर । बल्ल बोली फुट्यो ती दिदीको, ‘बाबु, म निला लामा बोलेको, मेरो छोरालाई अमेरिका ल्याइदिन्छु भनेर दुई जना मान्छेले मसँग पैसा लिएको दुई वर्ष भयो, न पैसा फिर्ता दिन्छन् न छोरालाई नै ल्याए ? स्वाभाविक मेरो प्रश्न थियो, ‘निला दिदी अनि मैले के सहयोग गर्नुप¥यो त तपाईंलाई ?’ मेरो यो समाचार विश्व सन्देशमा छपाइदिनुप¥यो बाबु, मलाई रुवाउनेलाई म पनि रुवाउन चाहन्छु ।’ लामो कुरा नगरीकन मैले उनीसँग अर्को दिन ज्याक्सनहाइटको राजा स्विट हाउसमा भेट्ने वचनबद्धतासाथ बिदा भएँ फोनबाट ।

हुन त यस्ता ठगीका समाचारका लागि धेरै फोनहरु आउने गरे पनि निला लामाको पीडाले मलाई घोचिरह्यो । भोलि कहिले होला र थप जानकारी लिउँला भन्ने कौतुहलता मडारिइरह्यो । विचरा ती दिदीलाई ठग्ने को होला भनेर धेरै सोच्न बाध्य भएँ । नेपालमा त कानूनी बन्देज अलि फितलो भएको कारण यस्ता ठगीका घटनाहरु सामान्य महसुस गरे पनि अमेरिकामा त्यो पनि मानव तस्करी गर्ने नियतवश नेपालीले नेपालीलाई कसरी ठग्न सकेको होला । यस्तै सोच्दासोच्दै दिन पनि बित्यो । काम गरेर लखतरान भएर बेलुका कुन बेला निद्रादेवी आइन्, पत्तै भएन । भोलि बिहान सबेरै ज्याक्सन हाइटमा निला दिदीलाई भेट्न गएँ । म पुग्नुभन्दा अगाडि नै चिया पसलअगाडि आएकी नेपाली अनुहार चिन्न त्यति गाह्रो भएन मलाई । सामान्य अभिवादनपछि स्वयम् परिचित भइयो एकअर्काप्रति । चिया पसलभित्र पसेको चिया खानेहरुको भीड बेपत्ता रहेछ । टेबुल सबै भरिएपछि कता बसौं, कता भयो । कुनामा एउटा सानो टेबुल भाग्यले बचेको रहेछ । एकएक डलरको दुई कप चिया दिदीले आफैंले पैसा तिरेर ल्याउनुभयो । अनि तातो चियाको सुर्कोसँगै दिदीको दुःखपीडाको कथा सुन्ने मेरो जिज्ञासा दिदीलाई भने । उनलाई ठग्ने ठगहरुको फोटो र नामसहित विश्व सन्देशमा छपाएर पैसा खाइदिए पनि बेइज्जत गराएर बदला लिने नियत मलाई प्रष्ट भइसके पनि समाचार बन्ने प्रकृतिको ठगी हो कि भन्ने मेरो पनि स्वार्थले म अझ बढी उत्सुक थिएँ । कुरा संवेदनशील थियो । विषय गम्भीर थियो र गोप्य पनि । तर, चिया पसलको माहौल कोलाहलपूर्ण थियो । संयोग कस्तो परेछ भने पल्लो टेबुलमा नै चार जना नेपाली चिया खाँदै थिए । के गर्ने के ? कुरा सुरु गर्दा अरुले सुन्ने हो कि भन्ने पीर पर्यो, तर एकैछिनमा निर्णय गरें । आखिर घटनाको समाचार बनाए पनि समाजले नै थाहा पाउने हो । उता दिदी त सबैलाई भन्न तयार नै थिइन् क्यारे ।

टेबुलमा बस्नासाथ दिदीले एउटा तमसुक देखाइन् । सन् २०११ को जनवरी ९ तारिख शुभम् भनेर अन्त्य गरिएको र श्री भनेर शुभारम्भ गरिएको उक्त तमसुकमा दोलखा जिल्लाको भिमेश्वर नगरपालिका घर भई न्यूयोर्क बस्ने फलानो र काठमाडौं जिल्ला गोल्फुटार घर भई न्यूयोर्क बस्ने तिलानो भन्दै क्रमशः ५ हजार ५ सय अमेरिकी डलर र ३ हजार अमेरिकी डलर व्यक्तिगत व्यापारको सिलसिलामा दुई महिनाभित्र फिर्ता दिने भनेर चलाखीपूर्ण ढंगले लिएर मौखिक रुपमा नेपालबाट छोरा अमेरिका ल्याइदिन्छु भनेर वचनबद्धता जाहेर गरेका रहेछन् ।

आँखाको डिलभरि आँसु पार्दै निला दिदी भन्दै थिइन्, ‘ल हेर्नुस् बाबु, मेरो छोरालाई ल्याइदिन्छु अमेरिका भनेर आठ हजार डलर लिए, अहिले त पैसा पनि दिँदैनन् ।’ मैले बुझाउन खोजे दिदीलाई, ‘हेर्नुस् दिदी यो भर्पाइमा त तपाईंसँग व्यक्तिगत कामका लागि पैसा सापट लिएको भनिएको रहेछ, यो भर्पाइमा छोरालाई झिकाउँछु भनेर पैसा लिएकै छैन । कुनै आधार नै छैन दिदी तपाईंको । तपाईंलाई ठगेको सत्य हो, तर ठगहरुले अति चलाखीपूर्ण बाटो अपनाएका छन् दिदी ।’ मेरो कुरालाई दिदीले कसरी बुझिन् कुन्नि, मलाई थाहा भएन, तर मलाई अझ बलियो प्रमाण पेस गर्ने मनसायले होला सायद उनीसँग पैसा लिने मान्छेलाई तत्काल फोन गर्न थालिन् र मैले पनि दुई जनाबीचको संवाद सुन्ने मौका पाएँ । निला दिदीले उतापट्टिको मान्छेलाई भनिन्, ‘मेरो पैसा आजै दिने भए दे, नत्र पत्रिकामा नाम र फोटोसहित छापिदिन्छु ।’ निला दिदीको धम्कीपूर्ण भाषालाई ठग्ने मान्छेले टेरपुच्छर नलगाई भनिदियो, ‘मेरो फोटो र नाम छापेर के भो त, म त्यस्तो नाम चलेको मान्छे होइन क्यार । मलाई कसैले चिन्दैन, छापीदेऊ न त ।’ वाह, कति सहजै जबाफ दियो, त्यो मान्छेले म पनि उसको जबाफले जिल्ल परें । बिचरी निला दिदी त वाक्क न ब्याक्क नपर्ने कुरै भएन । फोन राख्दै मलाई भनिन्, ‘देख्नुभो त बाबु यस्तो गर्छ । नाम, फोटो छापिदेऊ, मतलब छैन भन्छ । के गर्ने होला ?’ ती दिदीले ठगहरुले आफ्नो परिवार तहसनहस पारेको सुनाइन्– ‘पापीले मेरो पैसा त खायो खायो । छोरालाई अमेरिका ल्याइदिन्छु भन्दै आशा देखाए, मैले पनि पत्याएँ । शुरुशुरुमा अब छोराको भिसा हुने पक्का भयो, तयारी गर्न लगाउनु भन्दै हौस्याए । मैले पनि छोरालाई यहाँबाट फोन गर्दै बेलाबेलामा बाबु तयारी गर्दै गर, अब अमेरिका आउने निश्चित भयो भने । एक दिन, दुई दिन गर्दै महिना बित्यो, वर्ष बित्यो । ठगहरुको ठग्ने नियत प्रष्ट भयो । उता छोरो पनि एकैचोटि अमेरिका आउने अभिलाषामा गद्गद् हुँदै गयो, तर एकैपटक अब नहुने निश्चित भएपछि ऊ पनि पागल भयो । उसको मानसिक असन्तुलनको कारण मेरो श्रीमान्ले धेरै चिन्ता लिएपछि उनी पनि धेरै रोगहरुले ग्रसित भए । जीवन र मृत्युको दोसाँधमा छन् उनी पनि । आफ्नो ग्रीनकार्डका लागि फाइल गरेको प्रक्रियामा नै छु । तर, के गर्नु अपराधीहरुले आठ हजार डलर खानका लागि उनीहरुले मेरो सिंगो परिवार ध्वस्त पारे । बाबु अब म अर्को हप्ता अमेरिका छाडेर मेरो पतिको मुख हेर्न मात्र पनि नेपाल फर्कंदैछु ।’

कुनै दिन सुन्दर सपनाको खोजीमा अमेरिका छिरेकी निला दिदीले ७ वर्षमा खासै पैसा कमाउन पनि नसकेको दुःखसमेत सुनाउन भ्याएकी थिइन् । सग्लो लोग्ने र छोरालाई हाँसीखुसी छाडेर विदेसिएकी उनीसँग आज न अमेरिका बसाइँको सपना पूरा भयो ? ग्रीनकार्डको सपना पनि अधकल्चो नै रह्यो, त्यसलाई बीचैमा थाती राखेर नेपाल फर्किन बाध्य भइन् । सांसारिक माया र मोहमा डुबेको यो संसारमा उनका लागि सबैभन्दा ठूलो सपना आफ्नो छोरोसमेत पागल भएको देख्नुपर्ने भयो भने जीवन र मृत्युको दोसाँधमा रहेका आफ्नो पतिभन्दा अमेरिकी डलर प्यारो हुने त कुरै भएन । सबै छाडेर लथालिंग भएको परिवार सम्हाल्न उनी सदाका लागि नेपाल फर्किसकिन् । मैले जानेबेलामा उनको मुख हेर्न सकिन । मलाई मानवीय धर्मले छोप्यो, तर उनले सोचेअनुसारको समाचार प्रेषित गर्न भने म असमर्थ भएँ । मलाई माफ गरिदेऊ दिदी ।

(सत्य घटनामा आधारित)

Print Friendly

Leave a Reply