समाजसेवामा ‘कर्म’ को पैसा
देवमान हिराचन
‘तपाई जस्तो मान्छेले आँफूले भोगेको, आफूँले जानेको र आफूँलाई लागेको कुरा समाजमा दिनु पर्छ । यो दिने माध्यम भनेको लेखाई नै हो । त्यसैले तपाइले आफ्नो जीवनका अनुभवहरुलाई लेख्नुस् र किताब बनाउनुस् ।’
सन् २०१० को शुरुवात तिर मेरा केही मित्रहरुले यस्तो सुझाव दिए पछि मलाई आफ्नो जीवनका अनुभवहरु लेखेर पोख्ने जाँगर चलेको थियो । तर कसरी लेख्ने ? एकातिर एनआरएनको अध्यक्षको जिम्मेवारी अर्कातिर आफ्नो व्यवसायीक कामको पनि दायित्व, यी दुवै कामका लागि मैले दैनिक सरदर १६ घंटा खट्नु पर्ने बाध्यता नै थियो । दिनमा त मैले फुर्सद पाउने सम्भव नै थिएन । राती पनि एनआरएनका साथीहरुसँगको भेटघाट, बैठक र पत्राचार जस्ता कामले गर्दा ९ – १० त बजि नै हाल्थ्यो । तै पनि ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झै मैले लेख्ने समय र विषयवस्तु तय गरे, त्यो समय थियो विहान ०३ देखि ०६ बजे सम्मको । यसरी लेख्ने विचार त बनाएँ तर मलाई देवनागरि (नेपाली) लिपिमा टाइप गर्न नआउने, त्यसैले कलमले नै लेख्नु पर्ने बाध्यतै भयो ।
विषयवस्तुका बारेमा मैले आफूले गरेका काम र भोगाइहरुको फेहरिस्त नै हुने भएकाले मैले यसका बुंदाहरु नै तय गरें । पहिलोमा मेरा भोगाईहरु जस्मा– मुस्ताङमा घोडा चराउँदा देखि जापानमा जेम्सस्टोनको उद्योग चलाउदासम्म, पोखरामा अण्डा बेच्दा देखि जापान र नेपालमा ट्राभल एजेन्सी चलाउदा सम्म, जापान जाने अवसर पाउदा हर्ष विभोर भएको अवस्था देखि जापानमा नै आत्म हत्या गर्न तम्सने परिस्थिति सृजना भएको अवस्था सम्म, मार्फाको स्कुलमा क्लास मनिटर हुँदा देखि एनआरएनएको केन्द्रीय अध्यक्ष हुंदा सम्म । आदि जस्ता स्मृतिहरु मेरो मानसपटलमा ओइरिए झै भए । अनेकौं कष्ट र हर्षका अवस्थाहरुबाट गुज्रदै नागिबेली रुपमा तय गर्दै आएको मेरो जीवनयात्राका यस्ता अनुभव र अनुभूतिहरुलाई मैले कापीको पानामा जम्मा गर्दै गएँ ।
म पढाइको हिसावले स्वास्थ्य प्राविधिज्ञ भएता पनि पेशा र अनुभवका हिसावले एउटा उद्यमी, व्यवसायी तथा अर्थ प्रणाली सम्बन्धमा पनि रुची राख्ने भएकाले अवको नेपालमा आर्थिक र सामाजिक विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पनि आफ्ना अनुभव तथा धारणाहरु राख्नुलाई पनि सान्दर्भिक नै ठानें । म समाजशास्त्र र इतिहाँसको विद्यार्थी होइन, तथापी अनौठो प्राकृतिक बनावट र रोमाञ्चकारी इतिहास भएको मेरो जन्मस्थल मुस्ताङको भूगोल र इतिहासलाई मैले खोजी खोजी पढेको थिएँ । मैले पढेका यस्ता कृतिहरुबाट कतिपय उद्दरणहरु लिएर तिनलाई पनि यथासक्य उतार्ने काम गरे ।
अल्पसंख्यामा रहेको भए निकै प्राचीन सभ्यताको इतिहास भएको परिश्रमी, सृजनशील र जातीगत रुपमै व्यवसायिक कौशलता भएको मेरो जाती थकालीको इतिहासका आधारभूत पक्षहरु उतार्नुलाई पनि मैले जायज नै ठाने । यसरी आफ्नो जीवनका भोगाई, अनुभव र जानेका केही ज्ञानहरुलाई सरसरती उतारे पछि मैले यसको शीर्षकलाई ‘कर्म’ नै राख्ने निर्कौलमा पुगें
मैले प्रत्यक दिन माथि उल्लेख गरिएको समयमा लेखेर लगभग ६ महिना (नोभेम्बर २०१० देखि अप्रिल २०११) मा ‘कर्म’ लेखि भ्याएँ । लेखेर त सकें तर यसको भाषा देखि कतिपय सन्दर्भहरु सिलसिलाबद्ध रुपमा मिलेको छैन कि भन्ने आफैलाई लागिरहेको थियो । किन भने मैले कैलेकहीं आफ्नो पेशा र अनुभवका बारेमा केही फुटकर लेख अनि कैलकहीं मनमा कुनै भावना तरंगित हुंदा लघुकथा, नाटिका र छोटा कविता वा मुक्तक सम्म लेख्ने गरेको भए पनि भाति पुर्याएर कुनै लामै कृति लेख्ने अभ्यास भने गरेको थिइन । त्यसैले म भाति पुर्याएर भाषा र सन्दर्भ मिलाउन जान्ने हुनुका साथै मेरा भावना र धारणालाई राम्ररी ठम्याउन पनि सक्ने सम्पादकको खोजिमा थिएँ । यसै क्रममा मुस्ताङी जनताको सामुदायिक विकास लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत विगत २० वर्ष देखि सेवारत रहेका जापानी नागरिक तारुकोन्दो (जसलाई म १० – १२ वर्ष पहिले देखि चिन्दथें) को माध्यमबाट ज्योतिलाल बनसँग मेरो सम्पर्क हुन पुग्यो । श्री बनमा मैले लेखकीय अनुभवका साथै मेरा भावना र धारणालाई बुझ्न सक्ने विशेषता पनि रहेको अनुभव गरे पछि वहाँलाई नै मेरो ‘कर्म’ पुस्तक सम्पादन गर्न दिने विचार गरें । यसै सन्दर्भमा बनजीले कुशल सम्पादन सीप भएका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन तथा आफूँ समेत भएर ‘कर्म’ को सम्पादन गर्ने प्रस्ताव राख्नु भयो । यो प्रस्ताव मलाई उचित नै लागेकाले मैले वहाँहरु दुवैसँग आँफूले ‘कर्म’ लेख्नुको उद्देश्यका बारेमा मौखिक जानकारी समेत गराई पुस्तक सम्पादनको जिम्मा दिएँ । मैले चाहे झै नै वहाँहरुले पुस्तकको सम्पादन कार्य सम्पन्न गर्नु भए पछि यसको प्रकाशन हुन पुग्यो । यसरी लेखकमा म देवमान हिराचन, प्रकाशकमा ललित सब्बा र सम्पादकमा राजेन्द्र महर्जन तथा ज्योतिलाल बन रहेको, ३१० पृष्ठको ‘कर्म’ पुस्तक सन् २०१२ फेब्रुअरिको शुरुवात तिर पहिलो संस्करणमा १००० प्रति प्रकाशित हुन सक्यो । प्रकाशनको लगत्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाका हातबाट यसको विमोचन भयो । विमोचन पश्चात रु. ५००/– मूल्य राखिएको यो पुस्तक प्रवासी नेपाली साथीहरु लगायत अन्य पाठकहरुले पनि झण्डै हारालुछ जस्तै गरी किनेर लानु भयो । यसरी प्रकाशन भएको करिव दुई महिना भित्रमा ‘कर्म’ लगभग सवै नै सकिन लागि सेकेको छ ।
यस प्रकार पहिलो संस्करण बिक्री भै सकेकाले अब दोस्रो संस्करणको तयारीमा छु । सकभर नयाँ वर्ष २०६९ को प्रारम्भिक महिना भित्रैमा ‘कर्म’ को दोस्रो संस्करण निकाल्ने हाम्रो प्रयास रहनेछ । जसलाई पैरवी प्रकाशनले बिक्री वितरण गरिरहेको छ । कुनै पनि पाठक वर्गले त्यहाँबाट ‘कर्म’ खरिद गर्न सक्नु हुनेछ ।
‘कर्म’ पुस्तकको विक्रीबाट आएको र आउने सवै रकम नेपालको सामुदायिक विकास तथा शिक्षाको क्षेत्रमा लगाउने उद्देश्य राखेका छु । विगत दुई दशक देखि नेपालका पिछडिएका समुदायका लागि शिक्षा तथा स्वास्थ्य सेवामा योगदान पुर्याउदै आएको शिक्षा तथा विकास केन्द्र (यसोडेक) नामक संस्थाको माध्यमबाट गाउँका विपन्न वर्गहरुको आर्थिक अवस्था उकास्नको लागि वाख्रा पालन होस् या कफि खेतीका लागि निशुल्क विरुवाहरु किनेर वितरण गरेर सहयोग गर्ने मेरो सोचाइ रहेको छ । साथै सामुदायिक सेवामा यस रकमको उपयोग गरिने योजना बनाइएकोछ ।
















