‘आशाले’ दसौं लाखलाई इन्टरनेटसँग जोड्नेछ

‘आशाले’ दसौं लाखलाई इन्टरनेटसँग जोड्नेछ

काठमाडौ, माघ ११ – नोकियाले दक्षिण एसियाका बहुसंख्यक न्यून आय भएका जनतालाई लक्षित गर्दै बंगलादेशबाट नोकियाको आशा ३०३, आशा ३०० र आशा २०० नयाँ मोडेलको सस्तो ह्यान्डसेट सार्वजनिक गरेको छ । अर्को १० लाख जनतालाई यो ह्यान्डसेटबाट एक-आपसमा इन्टरनेटसँग समेत जोड्ने र उनीहरूका लागि सम्भावनाको नयाँ ढोका खोल्ने महत्त्वाकांक्षी उद्देश्य नोकियाले राखेको छ । नेपालमा समेत छिट्टै ल्याइने बताइएको नयाँ ह्यान्डसेटका विषयमा कान्तिपुरले नोकियाको बंगलादेश कन्ट्री डाइरेक्टर अब दाउद खानसँग गरेको संक्षिप्त कुराकानी:

 

कान्तिपुर संवाददाता

नोकिया आशा ल्याउनुको उद्देश्य के हो ?

अहिलेका मानिस समाचार सुन्ने, फोटो खिच्ने, भिडियो खिच्ने, परीक्षाको नतिजा पाउने, इन्टरनेटसँग जोड्ने, सेयर बजारको अवस्था थाहा पाउने, कुन दिन घाम लाग्छ र कुन दिन पानी पर्छ भन्ने जानकारी दिने, फोन, एसएमएस र एमएमएस गर्न मिल्ने एउटा सजिलो, सस्तो उपकरणको खोजीमा छन् । सस्ता मोबाइल सेटले मानिसका यी अपेक्षा पूरा गर्न सक्दैनन् । महँगा फोन सबैको पहुँचमा हुँदैनन् । यो खाडल पुर्न नोकियाले लामो अनुसन्धानपछि ‘आशा’ बजारमा ल्याएको हो । यो मोबाइलमा स्थानीय सफ्टवेयर पनि प्रयोग गर्न मिल्ने भएकाले सफ्टवेयर निर्माताले पनि फाइदा लिन र कमाइ गर्न सक्छन् ।

 

नोकिया आशा कस्तो मोबाइल सेट हो ?

यो १ गिगाहर्जको प्रोसेसर भएको सस्तो, छिटो इन्टरनेट चलाउन सकिने र सेयर बजार, जलवायु परिवर्तन, शिक्षा आदिसँग सम्बन्धित स्थानीय सफ्टवेयर समेत प्रयोग गर्न सकिने सस्तो र सजिलो स्मार्ट मोबाइल फोन हो । नोकियाका आशा ३०३ र आशा ३०० को टच स्त्रिmन छन् ।

आशा २०० को क्वार्टी की-प्याड छ, जसले चलाउन समेत सजिलो छ ।

यी मोबाइल सेटबाट मानिसलाई के फाइदा हुन्छ ?

यसले इन्टरनेटसँग जोडिन बाँकी १० औं लाख मानिसलाई इन्टरनेटसँग जोड्छ र उनीहरूका लागि सम्भावनाको नयाँ ढोका खोल्छ । विभिन्न सूचना सहजै उपलब्ध गराई उनीहरूको जनजीवन थप सहज बनाउँछ । दिउँसो पानी पर्दै छ भन्ने पूर्व जानकारी पाउनुभयो भने तपाईं बिहान घरबाट निस्कँदा छाता बोक्न भुल्नुहुन्न । सेयर बजारको जानकारी तपाईंले मोबाइलमै पाउनुहुन्छ । परीक्षाको नतिजा हेर्न ठूलो भिड चिर्नु पर्दैन । तपाईंको समय बचत गराउँछ ।

 

उपभोक्ताले यी फोन कति मूल्यमा पाउँछन् ?

बंगलादेशमा नोकिया आशा ३०३ को १३ हजार ७ सय टाका, आशा ३०० को ९ हजार ८ सय ५० टाका र आशा २०० को ७ हजार ३ सय टाका पर्छ । मलाई लाग्छ अब छिट्टै नेपालमा पुग्दा यी फोनको मूल्य योभन्दा बढी नेपाली रुपैयाँ नपर्ला । यो मोबाइल माइक्रोसफ्ट र नोकियाको संयुक्त प्रयासबाट यो सम्भव भएको हो ।

प्रकाशित मिति: २०६८ माघ ११ १०:२०

कान्तिपुर संवाददाता

Print Friendly

NO COMMENTS

Leave a Reply