कुवेतबाट फर्केकी माया गुरूङ लेख्छिन – “यस्तो कहिलेसम्म ?”

कुवेतबाट फर्केकी माया गुरूङ लेख्छिन – “यस्तो कहिलेसम्म ?”

१९ जुलाई २०११

मानव तस्करीविरुद्धको अभियानमा लडिरहेकी काभ्रेकी चरीमाया तामाङ राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा यतिखेर एकसाथ छाएकी छन् । चरी दिदीको काम साँच्चिकै अनुकरणीय छ, आफूलाई बेच्ने दोषी पात्रलाई अदालती कठघरामा उभ्याउनु र सजाय दिलाउनु आफैंमा प्रशंसनीय कार्य हो । तर यो समाजमा एउटी चरीमाया मात्रै पर्याप्त नाम हो त ? मानव तस्करीविरुद्धको अभियान यत्तिकैमा सीमित रहनु ठीक होला त ? अहिले एकैसाथ धेरै प्रश्न उब्जिएका छन् ।
राष्ट्रसंघीय अन्तर्राष्ट्रिय श्रमसंगठनले घरेलु कामदारको इज्जतपूर्ण कामको प्रावधानबारे एक प्रस्ताव पारित गरेको र चरीमाया दिदीलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको खबर एकैसाथ बाहिर आएको छ । दासताले भरिएका तथा अन्याय र अत्याचारपूर्ण मानिने काममा लागिरहेका दिदीबहिनीका लागि श्रमसंगठनको प्रस्ताव र चरीमाया दिदीको नाम आफैंमा ऊर्जाशील विषय हुन् । तर भइरहेका कानुनी प्रावधान र नियमहरू कार्यान्वयनको दायरामा नआइरहेका बेला एउटा प्रस्ताव पारित हुँदैमा ‘केही भइहाल्ला’ भन्नुको त्यति अर्थ छैन ।

नेपाली समाजमा महिलाले बेहोरेको स्थान, भोग्नुपरेका कामकुरा र अति पुरुष मानसिकताका कारण कतिपय युवती विदेशी मुलुकमा जेजस्तो काममा भए पनि गइरहेका छन् । घरेलु कामदार बनेर खाडी मुलुकहरूमा जाने महिलामा अधिकांश स्वेच्छाभन्दा बढी विभिन्न बाध्यताका सिकार बनेका छन् । केही महिला हिंसाका सिकार बनेर घर, समाज र देशबाट भागेका छन् भने कोही बहुविवाह, विभेद र एकल जीवनको सिकार बन्दै बाहिरिएका छन् । यथार्थ र स्थिति नबुझीकन खाडीमा घरेलु कामदार बनेर जानेको संख्या जति होला, त्यति नै बाध्यता र परिबन्दको सिकार बनेर खाडीमा होमिनेहरू पनि छन् । एक तथ्यांकअनुसार बितेका दुई वर्षमा मात्रै ८२ जना महिला विशेष गरी खाडी मुलुकहरूबाट गर्भवती बनेर फिरेका छन् भने दुई दर्जन नेपाली दिदीबहिनी साथमा बच्चा लिएर विदेशबाट यता आएका छन् । कुवेतका अनाथालय, प्रहरी चौकी र कारागारमा समेत बच्चासहितका नेपाली आमाहरू अझै न्याय पाउने आशामा बसिरहेका छन् । एउटी डोल्मा शेर्पाको मुद्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय चासोमा आएको भए पनि खाडीका छ वटा मुलुकहरूमा यस्ता थुप्रै डोल्माहरू रहेको तथ्यांक बाहिर आइसकेको छ ।

विदेशबाट बिचल्ली बेहोरेर घर फिरेका महिलाहरूको हकहितमा लागेको पौरखी नेपालको आश्रयस्थलमा मात्रै पुग्यो भने पनि महिला हिंसा, अन्याय र शोषणबाट ग्रसित भएर विदेशबाट फिरेका धेरै अनुहारहरू पढ्न पाइन्छ । यसैको धरान कार्यालयअन्र्तगत कानुनी मामला हेर्ने शारदा मास्केका अनुसार हालै खाडीको कुवेतबाट फिरेकी एक महिला मानसिक विचलनको अवस्थामा छिन् । सबै विषयवस्तु बुझ्दा ती दुई सन्तानकी आमा घरमा बहुविवाहको प्रताडना सहन नसकेर खाडी मुलुक लागेकी रहिछन् । तर भइदियो कस्तो भने तावाबाट उफ्रेर भुङ्ग्रोमा परेको माछाको हविगतमा ती महिला पुगेकी रहिछन् । यता फिरेर अहिले परिवारले स्वीकार नगरेपछि ती महिलाको मानसिक हालत यहाँ लेख्नै नसकिने प्रकारको छ ।

यसकारण एउटी महिलाका लागि सबैभन्दा ठूलो समस्या र कठिनाइ भनेको नेपाली समाजमा रहेको विभेद र पारिवारिक बहिष्कार हो । कुनै पनि कानुन, धारा-उपधाराभन्दा पनि पारिवारिक र सामाजिक मनोविज्ञान ठीक हुनसकेमा समस्याको समाधान आफैं पहिल्याउन सकिने थियो । अन्याय, अत्याचार र शोषणमा पर्ने सबै महिला चरीमाया दिदीझैं साहसी बनेर उत्रन नसक्लान् तर यो कठिनाइलाई सबैभन्दा सुरुमा समाज र परिवारले बुझ्नु जरुरी छ । अहिले भर्खरै सरकारले एकल महिलाबाट जन्मेको सन्तान अथवा आमाका नामबाट पनि छोराछोरीलाई नागरिकता दिनेसम्मका कानुनी व्यवस्था गरेको छ । तर के यो व्यवहारमा लागू हुन सकेको छ त ? एउटी आमाले आफ्नो सन्तान लिएर जिल्ला प्रशासन कार्यालय जाँदा उनलाई कति चाहिँदा र नचाहिँदा प्रश्न गरिन्छ भन्ने कसैले ख्याल गरेको छैन ।

मानवतस्करीविरुद्धका अभियान साँच्चिकै अघि बढाउने हो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला नियम र दस्तावेजभन्दा पहिले घरपरिवारबाटै न्याय र समानताको काम थालनी गर्नुपर्छ । हामी सबैका लागि चरीमाया दिदी एउटा अभियान थाल्ने उदाहरणीय नाम हुन् । तर यसो भन्दैमा एउटै चरीमाया मात्रै यो मानवदासता र तस्करी उन्मूलन गर्ने अभियानमा काफी हुन सक्दिनन् भन्ने यथार्थ हामी सबैले बुझ्नु जरुरी छ ।

लेखक कुवेतबाट फर्किएकी एक घरेलु कामदार हुन् ।

कान्तिपुरबाट

Print Friendly

NO COMMENTS

Leave a Reply