साउदी अरबको नेपाली समाज – विसंगति र सम्भावनाहरु

धरम के.सी.

१.       “मेरो तलब त ब्याज तिर्दैमा सकिने भयो, महिनाकै सयकडा १० तिर्नुपर्छ, के लिएर घर जाने होला?”

२.      “हाम्रो एक जना भाइ ब्लु फिल्मको सिडी बेच्दा पक्राउ परे, उनलाई जेलबाट कसरि छुटाउने होला?”

३.      “रातिको बेला बाटो क्रस गर्दा दुर्घटनामा परियो, अस्पतालमा ब्लड चेक गर्दा अल्कोहल भेटियो, रक्सी नेपाली बाटै पाएको थिएँ, अहिले वहाँ पनि जेलमा, म पनि अब अस्पतालबाट घर जाने कि जेल थाहा छैन”

४.     “पाएको तलब ५०० रियाल मध्ये ४०० त खाना, फोन र यता उता घुम्दा नै सकिन्छ, बचेको १०० रियाल महिनाको २ पटक थाई लटरी खेल्ने गरेको छु, लटरी परेपछि मात्रै घर जान सक्ने अवस्थामा छु”

माथिका ४ ओटै समस्याहरु म आँफैले प्रत्यक्ष देखेको छु | यी सबै साउदी अरबको नेपाली समाजका समस्या या विकृतिका प्रतिक हुन् | जानेर या नजानेर हाम्रा कतिपय नेपाली दाजु भाइहरु बाटो बिराएर कुकर्ममा लाग्नु भएको छ | साउदी अरबका २ बिकराल समस्याहरु – भागी हिंड्ने कामदार र घरेलु महिला कामदारका अतिरिक्त देखा परेका सामाजिक समस्या हुन् यी | माथिका २ बिकृतिहरु साउदी अरबको कानून, रितिरिवाज, धार्मिक र सांस्कृतिक मूल्य मान्यताहरुको जानकारी नहुँदा या बुझेर पनि बुझ पचाउँदा देखिएका हुन् भने पहिलो र चौथो समस्या भने व्यक्ति आँफैले चरम आर्थिक संकट या ऋणबाट मुक्त हुन सिर्जना गरेका समस्या हुन् | अरु पनि कति ज्ञात अज्ञात समस्याहरु छन् जसमा साउदी अरबमा रहेका नेपालीहरु जेलिएका छन्, प्राय: एउटा समस्या अर्को संग जोडिएको हुन्छ अर्थात् एउटा पीडा या संकटबाट मुक्ति पाउन अर्को संकटमा फसिरहेको पनि पाइन्छ | बिस्लेषण गर्दै जांदा हामि फेरी नेपालमै पुग्छौं जहाँबाटै धेरै जसो समस्याहरुको उद्गम भएको हुन्छ | देशको अर्थतन्त्र, रोजगारका अवसरहरु, उद्योग व्यवसायको अवस्था अनि म्यानपावर कम्पनीहरुका विभिन्न थरिका ठगि र धोखाधडीहरुमा पुग्छौं हामी | यस्ता विकृतिहरुलाई न्युनिकरण गर्न हामि सबैको सामुहिक चिन्तन र पहल जरुरि छ |

साउदी अरबमा रहेको नेपालीहरुको बिशाल संख्या भित्र बिशाल सम्भावनाहरु पनि छन् | नेपालीहरु यहाँ आएर बिकृतीमा फसेका मात्र होइनन, नेपालमै बिग्रिएका या बिग्रनै आँटेका कतिपय युवाहरु तिनका अभिभावकले सुध्रिनकै लागि साउदी अरब पठाएको र साँच्चिनै सुध्रिएका पनि प्रसस्त उदाहारणहरु पाउन सकिन्छ | एकाबिहानै देखि बेलुका सम्म काम गर्नै पर्ने, सिनेमा हल, भट्टी पसल नभएको, जुलुस, हड्ताल या राजनैतिक क्रियाकलाप नहुने हुँदा, बरालिने सम्भावना त्यसै पनि अति सिमित रहन्छ | महत्वपुर्ण कुरा त यो छ कि प्राय: अदक्ष या अर्ध दक्ष नेपाली कामदारहरु यहाँ आएर १-२ बर्षको छोटो अवधिमै दक्ष बनेको र धेरैले त्यहि शीप अभिवृद्धि संगै आफ्नो तलब सुबिधामा पनि धेरथोर वृद्धि गर्न सफल भएका छन् | हालैका दिनहरुमा साउदी अरबमा सिमित संख्यामै भए पनि मध्यमस्तरीय र उच्चस्तरीय जनशक्ति पनि आउन थालेका छन् र केहि बर्ष पहिले औंलामा गन्न सकिने नेपाली परिवारहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ अहिले | खोजि र पहिचान गर्न सके यहाँ संस्कृतिकर्मी कलाकारहरु, साहित्यकारहरु, लेखक र पत्रकारहरुको पनि कमि छैन | फाट्टफुट्ट रूपमा स्वतन्त्र ब्यापार व्यवसाय गर्नेहरु पनि छन् यहाँ | नेपाली सामाजिक संघ संस्थाहरुको त झन यहाँ भीड नै छ भन्दा पनि हुन्छ | यसरि फूलहरुको कुनै कमि छैन, कमि छ त यी तमाम फूलहरुलाई उनेर एउटै माला बनाउने धागोको | गैर आवासीय नेपाली संघ जन्मदैको एउटा उद्देश्य यिनै फूलहरुलाई उनेर एउटै माला बनाउने नै हो | तर शायद यसरि सबै एउटै साझा चौतारीमा उभिने यस अघिको संस्कार, अभ्यास र नजिर नभएर पनि होला, गैर आवासीय नेपाली संघको यो चाहना भने शत प्रतिशत पुरा हुन सकिरहेको छैन | जबकी यस संघ मार्फत सबै प्रवासी नेपालीहरु एकत्रित भएर नेपाल र नेपालीहरुका लागि गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् | यहाका लाखौँ नेपाली कामदारहरुका श्रम, शीप र अनुभवहरु भोलिका दिनमा राष्ट्र निर्माणमा कहाँ कसरि उपयोग गर्ने, थोरै भएपनि आफ्नो आर्जनलाई कहाँ लगानी गर्ने मात्र होइन, साउदी अरबमै पनि लाखौँ श्रमजीवी नेपालीहरुको रोजगारलाई कसरि सुरक्षित राख्ने, यसलाई बढी सुविधायुक्त र मर्यादित कसरि बनाउने अनि आपद विपद पर्दा संस्थागत रूपमा कसरि सघाउने भन्ने कुरातर्फ प्रयाप्त ध्यान दृष्टि दिंदै राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिंदै यथासक्य पहल गर्न पनि यो भन्दा उपयुक्त संस्था अर्को देखिएको छैन |  

तर कमसेकम यस संघको उपल्लो तहमा रहने जिम्मेवार सदस्य तथा पदाधिकारीहरुमा उच्चस्तरीय सुझ बुझ, अन्तराष्ट्रिय एक्यबद्धता, भाइचारा तथा दूरदर्शिता रहन सकेन भने यो संगठन सहज ढंगले सहि दिशामा अघि बढ्न गाह्रो हुनेछ | जब सम्म दोहोरो नागरिकता जस्ता बिषयहरुमा राष्ट्रिय आवस्यकता र महत्व देख्न सकिदैन र अन्तत्वगत्वा त्यसबाट खाडीकै एन आर एन हरु पनि लाभान्वित हुन सक्दछन भन्ने बुझ्न सकिदैन, एन आर एन ए को अन्तराष्ट्रिय महत्व, गरिमा र औचित्यलाई पनि आत्मसाथ गर्न सकिदैन |

एउटा सामान्य कुरा, आज मलेसियाका एन आर एन ब्यबसायीहरुले आफ्ना ग्राहकहरु यदि एन आर एन ए का सदस्यहरु भएमा १०% छुट दिने निर्णय गरेका छन्, एन आर एन ए को बिशेष पहलमा बिरामी एन आर एन को उपचारको खर्च मिनाहा हुन सक्दछ भने भोलि दोहोरो नागरिकता लिने एन आर एन हरुको लगानीका परियोजना तथा उद्योग व्यवसायहरुमा खाडीबाट फर्कने एन आर एन हरुले आँफुले आर्जेको ज्ञान, शिप र श्रम बिशेष सम्मान र प्राथमिकताका साथ उपयोग गर्न किन नपाउलान? थोपा थोपाले सागर बन्छ भने जस्तै, खाडीकै एन आर एन हरुबाट पनि सामुहिक लगानीमा ठुलै परियोजनाहरु चल्न सक्दछन, संख्याको महत्व नै तेही हो |

परन्तु आज बिडम्बना यो छ कि एकातिर नेपाल सरकारले एन आर एन ए ले ६ महिना भन्दा भन्दै २ बर्ष बाहिर बसे पछि मात्र एन आर एन मानिने भनेको छ भने अर्को तिर खाडीकै केहि जिम्मेवार एन आर एन हरुबाटै हामि त मात्र २ बर्षका लागि भाडामा ल्याइएका हौँ यहाँ, २ बर्ष पछी त हामि एन आर एन नै रहँदैनौ नि, किन चाहियो एन आर एन नै भनी एन आर एन ए प्रति नै बितृष्णा देखाउने गरिएको छ | जबकी यथार्थमा यहाँ ५-१० बर्षदेखीनै काम गर्दै, बस्दै आएका लाखौँ नेपालीहरु छन्, स्वदेशको बर्तमान अवस्था हेर्दा अझै अरु कति बर्ष यहि (प्रबाशमै) रहनु पर्ने हो, केहि भन्न सकिने अवस्था छैन, जो छिटै (२ बर्ष भित्रै) स्वदेश फर्केका छन् उनीहरुमध्ये पनि अधिकांश पुन: घुमी फिरी यतै प्रबाशमै फर्कने गरेका छन् | गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४ पृष्ठ ४ को दफा ४(३) को उपदफा २ बमोजिम पनि “२ बर्ष भन्दा बढी बिदेशमा बसोबाश गर्न पाउने अनुमति प्राप्त बिदेशमा बस्ने नेपाली नागरिकलाई सो अवधिभरको लागि परिचय पत्र दिनसकिने छ” भने बाट बैदेशिक रोजगारको करारनामा गरि आउने सबै नेपालीहरु उक्त करारनामाकै आधारमा पनि विदेश आए लगत्तै नै एन आर एन बन्ने बुझिन्छ, मात्र ६ महिनाको सम्झौतामा आउने त को नै होलान र यहाँ? आखिर जतिन्जेल बसेपनि प्रबाशमा रहुन्जेल आफ्नो बसाई सुरक्षित, सार्थक र सुविधायुक्त राख्दै राष्ट्रको निर्माण र बिकाशमा प्रबाशबाटै पनि प्रत्यक्ष, अप्रत्यक्ष सहभागिता जनाउन एन आर एन ए यदि साझा मंच र उपयुक्त माध्यम बन्न सक्दछ भने यश संघ प्रति त्यस्तो बितृष्णा देखाउनु भन्दा बरु कसरि यस्लाई प्रबाशी नेपालीहरुको जनजीवनमा अझ उपयोगी, भरपर्दो र प्रभावकारी बनाउन सकिन्छ, त्यतातिर पो सोंच्ने कि?

1 Comment

  1. Apsolutly True whatever you commented about reality…

Leave a Reply