साउदी अरबको दमाममा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपालबाट आउनुभएका कलाकारहरु इशा आले, देवी घर्ति र जगदिश हमालका साथमा साउदी अरबको रियाद र दमाम क्षेत्रका स्थानीय कलाकारहरु समेतको संयुक्त प्रस्तुती रहेको नेपाली सांस्कृतिक कार्यक्रम २६ फेब्रुअरी राति ८ बजे दमाममा सम्पन्न भएको छ | प्रबासमा पनि आफ्नो कला, भेष भुषा, संस्कृति र सभ्यता जोगाई राख्न तथा एउटा पनि पब्लिक सिनेमा हल नभएको यस साउदी अरबका तमाम श्रमजिबी नेपालीहरुलाई केहि घण्टा मनोरंजन दिन सफल यो सांस्कृतिक कार्यक्रमलाई प्रबासी लांघाली मगर संघ साउदी अरबले २७औं मगर दिवस तथा फागु पूर्णिमाको अवसर पारेर आयोजना गरेको हो | नेपाली दूतावासबाट पाल्नुभएका नियोग उप प्रमुख श्री पारश घिमिरेज्युको प्रमुख आतिथ्य तथा आयोजक प्रबासी लांघाली मगर संघका सभापति बिष्णु थापाको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विभिन्न नेपाली संघ संस्थाहरुका अग्रज महानुभावहरु, बुद्धिजिबी, ब्यापारी, पत्रकारका अतिरिक्त केहि साउदीहरु पनि अतिथिका रूपमा आशिन थिए भने १५०० क्षमता रहेको म्यारिज हल नेपाली दर्शकहरुले भरिएको थियो जसमा महिला दर्शकहरुको पनि उल्लेख्य उपस्थिति देखिन्थ्यो |

ईशा आलेको आँफ्नै उद्घोषण तथा संचालनमा अघि बढेको यस सांगीतिक माहोलमा उनको आफ्नै एकल तथा हिमाल आले संगको युगल न्रित्य कार्यक्रमका आकर्षक प्रस्तुती बनेका थिए भने लोक गायिका देवी घर्ति तथा आधुनिक गायक जगदिश हमालका सुरिला गीतहरुले पनि दर्शकहरुलाई मुग्ध मात्रै पारेनन धेरैलाई आ आफ्नो सिटबाट उठेर नचाए पनि | कार्यक्रमको तेत्तिकै महत्वपुर्ण र गर्ब गर्न लायकको अर्को पक्ष स्थानीय कलाकारहरुको प्रस्तुती पनि थियो | हाल रोजगारका लागि साउदी अरबमा रहनुभएका सुस्थापित राष्ट्रिय गायकद्वय छन्त कार्की र तिलक गुरुंगले आ आफ्नै एल्बमबाट गीतहरु प्रस्तुत गर्नु भयो भने रेडियोमा समेत गाइ सक्नु भएका पुराना जनगायक भक्त सिन्ग्दानले पनि आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो | तेस्तै रियादबाट आउनुभएका सुपरिचित गायकद्वय बिज्ञान राई र नागेश तामांग अनि दमामकै रोम मगरका सुमधुर र स्तरीय गीतहरुले साउदी अरबमा पनि गायक कलाकार हरुको कमि छैन भन्ने अनुभूति गराएका थिए | यस अघिका कार्यक्रमहरुमा घिन घिनको गीतमा मात्रै नाच्दै आएका बाल कलाकार आदित्य सुनारीले यसपाला भने नयाँ गीतमा नाचेर आँफु अन्य गीतहरुमा पनि तेत्तिकै बेजोड नृत्य प्रस्तुती दिन सक्ने प्रमाणित गरे |

बाद्यवादनमा डम्बर तामांगको टीमले साथ दिएको थियो भने कार्यक्रम संचालनमा जय आलेले सघाएका थिए | हिमाल आलेको कमेडी डान्समा उनको बिशेष नृत्य तथा हास्य कला देखिएको र यसमा नेपाली संस्कृति र यथार्थ केहि हदसम्म झल्किए पनि रक्शिको बोतल नै लिएर साउदी अतिथिका अघि मन्चमा तेसरी प्रस्तुत हुँदा ती साउदी अतिथिले के सोंचे बुझे होलान, आयोजकले अलिक सोंच बिचार गर्न नसकेको हो कि? किनकि हामीले हाम्रो संस्कृति प्रस्तुत गर्दा अरुको संस्कृति, सभ्यता र मान्यतामा ठेस पुर्याउनु हुँदैन | सबैलाई जानकारी हुनुपर्ने हो साउदी अरबमा रक्सि लगायतका मादक पदार्थको सेवन र बिक्रि वितरण समेत निषेध छ | आशा गरौँ कि अर्को हप्ता रियादमा हुने कार्यक्रममा हसाउनका लागि रक्शिको बोतलको विकल्प खोजिने छ |

सांस्कृतिक कार्यक्रम भएकाले भाषण तथा मन्तब्यलाई सिमित राखिएको थियो | बक्ताहरुमा प्रमुख अतिथि पारस घिमिरेज्यु, मगर संघका अध्यक्ष बिष्णु थापा, उपाध्यक्ष जीवन थापा र एन आर एन ए आइ सी सी कि मनोनित सदस्या यास्मीन बेगम हुनुहुन्थ्यो | यास्मीन बेगमले यो कार्यक्रममा पिडित महिलाहरुका उद्धारका खातिर केहि आर्थिक संकलन पनि गर्नु भो जुन सकारात्मक पहल हो | यस्तै सराहनीय कार्य प्रबासी किरात एकता मंचले नेपालबाट आउनुभएका कलाकार त्रयलाई मायाको चिनो उपहार दिनु र गीत, कविता, गज़ल, मुक्तक को संग्रह बिमोचन हुनु पनि रह्यो |

कार्यक्रमको अर्को महत्वपुर्ण पक्ष यो थियो कि यसपाला आयोजकले सम्भवत: जनमतलाई बुझेरै होला, यस अघिका यस्तै कार्यक्रमका तुलनामा टिकट दर निकै कम निर्धारण गरेको थियो र प्राबिधिक पक्ष पनि निकै सुधारिएको थियो | नेपालीहरुको सांस्कृतिक कार्यक्रममा ट्रयाक प्ले गर्ने जिम्मा चै एक भारतीयलाई दिएर होला, बेला बेलामा गायक गायिकाहरुले अफ्नो सहि ट्रयाक सजिलै पाउन सकेका थिएनन र सबैलाई खल्लो र पट्यार लाग्ने कुरो चै कार्यक्रम सुरु गर्न नै अत्यधिक ढिलाइ गर्नु थियो जुन यस अघिका कार्यक्रमलाइ समेत सम्झिंदा आँफैमा नौलो चै होइन | कामना गरौँ कि अब हुने यस्ता कार्यक्रमहरुमा आयोजकहरुले यी अनुभवहरुबाट अझ सिक्दै र खारिदै जाऊन् र कार्यक्रम पश्चात सबै दर्शकहरुले पूर्ण सन्तुष्टि अभिव्यक्त गर्न सकून |

समग्रमा यो कार्यक्रमलाई सफल नै मान्नु पर्दछ, कार्यक्रमका आयोजक तथा सम्पूर्ण कलाकारहरु धन्यबादका पात्र छन् र कलाकारहरुलाई समयमै भिषा उपलब्ध गराएर अनि कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सोभा र संरक्षण दिएर नेपाली राजदुतावासले समेत सराहनीय कार्य गरेकै हो |

फोटो सौजन्य: खेम गुरुङ

Leave a Reply