पालैपालो प्रधानमन्त्री ! चक्रीय प्रणालीबारे दुइपक्षीय र बहुपक्षीय छलफल

काठमाडौं, साउन १४
प्रधानमन्त्री पदका लागि सहमतीय र दुइपटक बहुमतीय प्रयास असफल भएपछि प्रमुख तीन दलबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने नयाँ प्रस्तावमा छलफल सुरु भएको छ । एमाले र माओवादीका शीष् नेतृत्वबीच भने त्यस्तो चक्रीय प्रणालीबारे दुइपक्षीय र बहुपक्षीय छलफल चलिसकेको छ ।
तर, त्यसलाई १७ साउनमा हुने प्रधानमन्त्री निर्वाचनपछि अन्य दलबीच छलफलका लागि प्रस्ताव गर्ने सुझाव माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्रोतले बतायो । स्रोतका अनुसार माओवादीबाट प्रधानमन्त्रीका प्रत्यासी प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच बुधबार त्यसबारे छलफल भएको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालका तर्फाट सो प्रस्ताव बोकेर गौतम दाहालसमक्ष पुगेका थिए । खनालको प्रस्तावअनुसार जारी प्रधानमन्त्री निर्वाचन प्रक्रिया रद्द गरेर चक्रीय प्रणालीमा जाँदा कम्तीमा तीन दलबीच सहमति बन्न सक्छ । संविधानसभामा माओवादी, कांग्रेस र एमालेका सभासद्को संख्या जोड्दा दुइतिहाई पुग्छ ।
खनालका तर्फाट चक्रीय प्रणालीको स्वरूप पनि निर्धारण गरिसकिएको छ । स्रोतका अनुसार पहिलो स्वरूपअर्न्तर्गत समयावधि र दोस्रो मुद्दाका आधारमा आलोपालो गरी माओवादीबाट प्रचण्ड, कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट आफूले प्रधानमन्त्री पद सम्हाल्ने प्रस्ताव खनालले अगाडि सारेका छन् ।
प्रस्तावअनुसार प्रधानमन्त्री चयनदेखि आमनिर्वाचन नहुन्जेलसम्मको समयलाई तीन भाग लगाई तीनजनाले आलोपालो गरी सरकारको नेतृत्व चलाउनुपर्नेछ । त्यसमा सहमति हुन नसके माओवादी लडाकूको समायोजन, पुनःस्थापना र लडाकूका हतियार व्यवस्थापनसम्म एकजना, त्यसपछि नयाँ संविधान जारी गर्दासम्म अर्को र संविधान जारी भएदेखि आमनिर्वाचनसम्म तेस्रोले सरकारको नेतृत्व गर्ने प्रस्तावमा पनि माओवादी-एमालेबीच प्रारम्भिक छलफल चलिसकेको स्रोतले बतायो ।
गत मंगलबारको भेटमा एमाले अध्यक्ष खनालले पनि कांग्रेस संसदीय दलका नेता पौडेलसँग चक्रीय प्रणालीबारे छलफल गरेका थिए ।














