सेनाको जागिरमा नमिठो अनुभूति

डा. गीता बस्नेत
अवकाशप्राप्त, सहायकरथी -बि्रगेडियर जर्नेल),
सेनामा सबभन्दा माथिल्लो तहमा पुगेकी महिला
हामीले हाम्रा मातहतका कर्मचारीलाई खाली बस्न दिँदैनथ्यौँ । तपाईंहरू काम गर्नुहोस्, तपाईहरूको काम बिरामीको सेवा गर्नु हो भन्थ्यौं । अस्पतालमा जनशक्तिको अभाव भयो त भन्नुहुन्छ, तर तपाईंहरू आफैँ भने काम गर्नुहुन्न, कसरी अस्पताल चल्छ भनेर हामीले हाम्रा मातहतका कर्मचारीलाई सधैं काम गर्न प्रोत्साहित गर्थ्यौं।
भारतबाट ०३४ मा एमबिबिएस पास गरेपछि सैनिक अस्पतालमा काम गर्न सुरु गरें । त्यतिखेर डाक्टरको निकै अभाव थियो । दसजना मागेपछि एकजना डाक्टर मात्र पाइन्थ्यो । त्यसमा पनि सेनाको अस्पतालमा काम गर्न त्यति मन पराउँदैनथे डाक्टरहरू । मलाई सेनाको युनिर्फम र अनुशासन निकै मन परेको थियो । त्यहाँभित्रको अनुशासनले सेनाप्रति मलाई लोभ जगाएको थियो । त्यसकारण सेनाको अस्पतालमा काम गर्ने मन लाग्यो । त्यतिखेर सैनिक
अस्पताल छाउनीमा नभई महाँकालमा थियो । म सोझै अस्पताल गएँ । मैले अस्पतालका कमान्डिङ अफिसर वीरेन्द्रबहादुर बस्नेतलाई भेटें । एमबिबिएसमा मैले राम्रो नम्बर ल्याएकी थिएँ । मेरो नम्बर हेर्नेबित्तिकै बस्नेतले ओके भन्नुभयो । उहाँले औपचारिकता पूरा गर्नका लागि मेरो अन्तर्वार्ता पनि लिनुभयो । अन्तर्वार्ता लिएको दुई-तीन दिनमै मैले काम गर्न सुरु गरँे । सेनामा ज्वाइन हँुदा मलाई निकै खुसी लागेको थियो । मेरो बुबा पनि सैनिक अफिसर हुनुहुन्थ्यो । बुबाले लगाएको युनिर्फमले मलाई निकै लोभ जगाउँथ्यो । म सेनामा प्रवेश गर्दा शारीरिक रूपमा पनि मेरो परीक्षा गरिएको थियो । सबै कुराले म फिट भएकी थिएँ । आइएस्सीमा पनि मैले राम्रो अंक ल्याएकी थिएँ । म र उपेन्द्र देवकोटा एउटै ब्याचमा पढेका थियौँ ।
म सेनामा प्रवेश गर्ने तेस्रो महिला थिएँ । त्योभन्दा अघि दुई महिला मात्र सेनामा प्रवेश गर्नुभएको थियो । उहाँहरूको नाम पनि थाहा छ । पहिलो महिला चन्द्रलक्ष्मी जोशी हुनुहन्छ । उहाँ मेजर हुनुहुन्थ्यो । दोस्रो राधा शाह हुनुहुन्छ । उहाँ सेनानी हँुदा रिटायर्ड हुनुभयो । मैले सेनामा उपसेनानीबाट सुरु गरँे । रिटायर्ड हुँदा
सहायकरथीबाट रिटायर्ड भएँ । उपरथीको लाइनमा थिएँ, सहायकरथी अर्थात् सेनामा सबभन्दा माथिल्लो तहमा पुग्ने पहिलो महिला म भएकी छु अहिलेसम्म । यसमा मलाई गौरव लागेको छ । सेनामा मैले ३३ वर्ष काम गरँे । सेनामा प्रवेश गर्नेबित्तिकै मैले सेनाको आधारभूत तालिम लिएकी थिएँ । त्यतिखेर आधारभूत तालिम चार हप्ताको हुन्थ्यो । अहिले बढाइएको छ । अस्पताल हाताभित्रै तालिम लिएकी हुं मैले ।
सेनामा काम गर्दा मैले थुप्रै आरोह-अवरोह भागेकी छु । राजा वीरेन्द्रको वंशनाश हुँदा मलाई निकै नरमाइलो लागेको थियो । त्यतिखेर हामी डयुटी सकेर घर र्फकेका थियाँै । अकस्मात् हामीलाई अस्तालबाट बोलाइयो । त्यसवेला अस्पतालका सबै डाक्टरलाई बोलाइएको थियो । अस्पताल पुग्दा राजा वीरेन्द्र र उहाँको परिवारलाई ल्याइएको थियो । कोही मरिसकेका थिए भने कोही बाँचेका । बाँचेकाहरूको एक्स-रे गर्यौँइ । तत्कालीन युुवराज दीपेन्द्र, कोमल, कुमार गोरखलगायतका राजपरिवारका सदस्यको एक्स-रे मैले नै गरेकी थिएँ । पूर्वरानी कोमलको शरीरभरि गोलीका छर्रा देखिएका थिए । ती छर्रा सिसाका रूपमा शरीरभरि छरिएर रहेका थिए । छर्रा निकाल्न सकिँदैन, तर तिनीहरूले शरीरलाई सूक्ष्म रूपमा केही न केही हानि गरेकै हुन्छ । राजा वीरेन्द्रको वंशनाशले मलाई निकै स्तब्ध गराएको थियो ।
म सेनामा ज्वाइन हुँदा सेनाका अस्पताल अहिलेजस्तो खुला र फराकिलो ठाउँमा नभई महाँकालमा थियो । तर पनि त्यसवेला अस्पताल निकै व्यवस्थित र सफा थियो । त्यसवेला डाक्टर पनि निकै कम थिए । सेनाको संख्या पनि बढयो, तर डाक्टर सेनाका तुलनामा अझै कम छन् । ०४६ पछि सेनाको अस्पताल छाउनी सर्यो् । हामीले हाम्रा मातहतका कर्मचारीलाई खाली बस्न दिँदैनथ्यौँ । तपाईंहरू काम गर्नुहोस्, तपाइर्ंहरूको काम बिरामीको सेवा गर्नु हो भन्थ्याँै । अस्पतालमा जनशक्तिको अभाव भयो त भन्नुहुन्छ, तर तपाईंहरू आफैँ भने काम गर्नुहुन्न, कसरी अस्पताल चल्छ भनेर हामीले हाम्रा मातहतका कर्मचारीलाई सधँै काम गर्न प्रोत्साहित गर्थ्यौं ।
हामी सेनाको हेडक्वार्टरअन्तर्गत डिएम एस (डाइरेक्टर अफ मेडिकल साइसेन्सेज)को मातहतमा रहेर काम गरेका थियौँ । त्यतिखेर त्यस विभागको प्रमुखमा ठाकुरनाथ भट्टराई हुनुहन्थ्यो । अहिले यसको नाम बदलिएर डिजिएमएस रहेको छ । म रिटायर्ड हँुदा यस विभागको प्रमुखमा सुरजशमशेर राणा हुनुहुन्थ्यो । सेनामा काम गर्दा सुरुमा हामीलाई कुनै भेदभाव गरिएको थिएन । हामीले सेनामा पुरुषसरह नै सबै सेवा पाएका थियाँै । तत्कालीन चिफ डिपार्टमेन्टप्रमुख वीरेन्द्रबहादुर बस्नेतले हामीलाई कुनै भेदभाव गर्नुभएन । उहाँले हामीसँग पाँच वर्षजति काम गर्नुभएको थियो । सेनामा हुँदा हामी खासगरी दुई महिला म र डा. ललिता जोशीले इमानदारपूर्वक काम गर्यौं । उहाँभन्दा म सिनियर भए पनि हामीले सँगसँगै अवकाश पाएका थियौँ । म छाउनी अस्तपालमा एक्स-रे र एमआरआई डिपार्टमेन्टमा काम गर्थें । मलाई कामबाहेक अरू कुनै कुराको चासो थिएन । हामी चाकडी गर्न जान्दैनथ्यौं । तर, डेढ वर्षअघि ममाथि अन्याय गरियो । त्यतिखेर म निकै दुःखी भएँ । त्यसवेलासम्म महिला भएका कारणले कुनै कुरामा मलाई भेदभाव गरिएको थिएन, तर डेढ वर्षअघिको घटनाले मलाई महिला भएकै कारण भेदभाव गरिएको महसुस भयो ।
डेढ वर्षअघि छाउनी अस्पतालमा प्रशासन रजिष्ट्रार पद खाली भयो । सो ठाउँमा स्वतः मैले जिम्मेवारी पाउनुपथ्र्यो । किनभने सेनामा हरेक अवसर पाउँदा सिनियारिटीबाट सुरु हुने गर्छ । सेनामा स्वतः सिनियरले अवसर पाउने भएकाले मैले सो जिम्मेवारी पाउनेमा ढुक्क थिएँ । तर, मलाई त्यो पदमा जिम्मेवारी नदिई दुई तह तलका एक पुरुषलाई जिम्मेवारी दिइयो । दुई महिलालाई पन्छाएर पुरुषलाई जिम्मेवारी दिँदा महिला र पुरुष भनेर भेदभाव गरेको हामीलाई महसुस भयो । त्यसवेला हामीमाथि भेदभाव गर्ने काम सुरजशमशेर राणाले गर्नुभएको थियो । त्यतिखेर उहाँ कमान्डिङ अफिसर हुनुहुन्थ्यो । हामीले इमानदारपूर्वक काम गरेका थियाँै । हाम्रो इमानदारी हाकिमलाई सायद नपचेको हो कि जस्तो लाग्यो । यदि हामी इमानदार नभएको भए हामीभन्दा सिनियर र हामीसरहका साथीलाई फाइदा हुन्थ्यो कि जस्तो अहिले लागिरहेको छ । अस्पतालमा काम गर्न हामीले कुनै कसर बाँकी राखेका थिएनौ । हाम्रो छवि राम्रो थियो । हामी कुनै लोभलालचमा परेका थिएनौ । बाहिर क्लिनिकमा गएर काम पनि गरेनौ । इमानदारपूर्वक सबै समय अस्पतालमै खर्च गर्याँहै ।
सेनाबाट रिटायर्ड हुंदा पनि हामीलाई अन्याय गरियो । समावेशीको नारा दिइरहेको वेला महिलालाई अन्याय भएको छ । हामीले नेपाली सेनामा ३३ वर्ष काम गर्यौँ । बदलामा भारी मन लिएर रिटार्ड भयौँ । हामी बढुवा हुने लाइनमा थियाँै । सेनामा अहिलेसम्मको परम्परा पनि यही छ । तर, हामीमाथि पूर्वाग्रही भावना राखियो । हरेक वर्ष एक-एक तहभन्दा माथिकाले आफ्ना मातहतको सिपाहीलाई मूल्यांकन गरेर माथिल्लो निकायमा पठाउने सेनामा परम्परा छ । त्यो परम्परा सबैमा लागू भएको छ । र पनि हामीमाथि त्यो परम्परा तोडियो । हाम्रो बढुवा नहुने संकेत पाएपछि हामीले हाम्रो गुनासो सुनाउन सेनापतिलाई भेट्न गयाँै । सेनापतिले हामीलाई भेट त दिनुभयो, तर हामीलाई वास्ता नै गर्नुभएन । उहाँले हाम्रो कुरै सुन्नुभएन । सेनापतिसँग हामीले जम्मा आठ मिनेट भेटेका थियौँ । त्यो आठ मिनेटमा मनमा लागेको कुरा हामीले भन्याँै । उहाँले हाँस्दै भन्नुभयो, ‘तलबाट तपाईंहरूको बढुवाको सिफारिस नै आएन ।’
हामीले हाम्रो बढुवाका सिफारिसको फायल किन पठाइएन भन्ने बुझन खोज्दा माथिकाले तलकाले सिफारिस नै पठाएनन् भने । तलका भनिएकोलाई सोध्न जाँदा माथिकाले सिफारिस नै मागेनन् भने । हामी अन्योलमा पर्यौँ ।
हामीमाथि सुरजशमशेर राणाले पनि अन्याय गर्नुभएको छ । उहाँ हामीभन्दा एक तह माथि हुनुहुन्थ्यो । एक तह माथिकाले सिफारिस गर्नुपर्ने सैनिक ऐनमा व्यवस्था छ, तर उहाँले हाम्रो सिफारिस गर्नुभएन । सेनाभित्र दक्ष जनशक्ति बहिर्गमन भएको छ । अब हामीले न्याय खोज्छौँ । हामीमाथि ठूलो अन्याय भएको छ ।
महिला भएकै कारण हामीलाई हेपियो । हामीले पुरषले भन्दा इमानदारीपूर्वक काम गरेका थियाँै । अहिले समावेशीको नारा खुबै उठाइएको छ, तर समावेशीका नाममा महिलामाथि ठूलो अन्याय भएको छ । सेनामा महिलाको उपस्थिति नगन्य छ, तर तिनै महिलामाथि अन्याय भएको छ ।
सैनिक अस्पतालमा प्राविधिक जनशक्ति निकै कम छ । सेनाको संख्याको तुलनामा डाक्टर निकै कम छन् । त्यसकारण हामीलाई अवकाश दिएर संस्थालाई नै नोक्सान भएको छ । मभन्दा एक तहका सिनियर सुरजशमशेर राणाले यही १६ असारमा अवकाश पाउनुभयो भने हामीले १९ गते अवकाश पायौँ । उहाँ र हाम्रो अवकाशको समय तीन दिनको फरकमा भयो । सेनामा एक दिनका फरक भए पनि सिनियरले अवसर पाउने चलन भए पनि हामीमाथि त्यो परम्परा लागू भएन । उहाँले हाम्रो मूल्यांकन गर्नुभएन । हामीले राम्रो वा नराम्रो काम गरेको भए पनि मूल्यांकन गर्नुहोस् भन्दा पनि उहाँले मूल्यांकन फाइल नै अघि बढाउनु भएन । उहाँले नराम्रो भनेर मूल्यांकन गर्ने अवस्था नै थिएन । किनभने हामीले सबै काम राम्रो काम गरेका थियौँ । नराम्रो एउटा पनि काम गरेनौ, त्यसलै उहाँले मूल्यांकन नै गर्नु भएन जस्तो हामीलाई लागेको छ । अहिले छाउनी अस्पतालमा महिला डाक्टर तीस-चालीसजना छन् । उनीहरू सबै मभन्दा जुनियर हुन् । उनीहरूले मजस्तै अन्याय भोग्नु नपरोस् भन्ने मेरो चाहना हो ।
सेनामा हामीलाई अन्याय भएपछि हामीले न्याय मागिरहेका छौँ । हाम्रो तर्फबाट हाम्रा शुभचिन्तकले महिला आयोग र व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा उजुरी हाल्नुभएछ । हामीले न्याय पाएनौ भने पनि सेनामा काम गर्ने अरू महिलाले न्याय पाऊन् भन्ने मेरो चाहना हो । त्यसका लागि हामी लागिपरेका छौँ । हामीले न्याय पाउनुपर्छ भन्ने हाम्रो माग हो । हामीलाई स्वतः पन्छाउन खोजेको देखियो । हामीले न्याय पाउनुपर्छ त भन्यौँ, तर हामी कुनै नेताकहाँ गएनौँ । खालि हामीले सेनाप्रमुखसँग मात्र गुनासो गर्यौँछ । तर, हामीमाथि भएको अन्याय अहिले सबैलाई थाहा भएको छ । महिलावादी संघ-संस्था हामीले तपाईको पक्षमा लड्छौँ, तपाईंमाथि अन्याय भएको छ भनिरहेका छन् ।
एकजना महिला त्यसमा पनि ०३४ मा सेनामा प्रवेश गर्नु भनेको ठूलो कुरा थियो । त्यो एउटा साहसिक काम पनि थियो । सेनामा प्रवेश गर्न उत्साह मैले मेरै बुबाबाटै पाएकी थिएँ । उहाँ पनि सेनाको सहायकरथी हुनुहुन्थ्यो । उहाँले हामीलाई निकै दुःख गरेर पढाउनुभएको थियो । सेनाको युनिर्फम लगाउँदा मलाई निकै खुसी लागेको थियो । बुबा पनि निकै खुसी हुनुहुन्थ्यो ।
बुबा र मलाई एकैकिसिमले अन्याय भएको छ । रिटायर्ड हुँदा पद पनि एउटै थियो । बुबा यज्ञविक्रम राणा १५ वर्षअघि रिटायर्ड हुनुभयो । उहाँ पनि मजस्तै इमानदार हुनुहुन्थ्यो । उहाँ सहायकरथीबाट बढुवा भएर रिटायर्ड हुने लाइनमा हुनुहुन्थ्यो, तर उहाँलाई पनि मलाई झैं अकस्मात् अवकाश-पत्र थमाइएको थियो । त्यतिखेर सेनामा प्रधानसेनापति सच्चितशमशेर जबरा हुनुहन्थ्यो । बुबा र मलाई एउटै किसिमले अन्याय हुँदा मलाई दुःख लागेको छ ।
सेनाको जागिर अरूजस्तो जागिर होइन । हामीलाई ज्यानको धम्की पनि आउने गर्छ । त्यसकारण हामीलाई सुरक्षाको चिन्ता छ । सुरक्षाको चिन्ताकै कारण हामीले खुलेर आउन सकेका छैनौं । अरूजस्तो जागिर भएको भए खुलेर आउँथ्यौं ।














