एएनए आवश्यकता उसबेला, रहर यसवेला


भारती गौतम
”तपाईले पनि नेपालको हो”?

”हो कसरी थाहा पाउनुभयो, अनि तपाई पनि नेपाली हुनुहुँदो रहेछ”

”तपाईले आफ्ना छोराहरुसंग कुरा गरेको मैले केहि छिन अगाडि देखि ध्यान दिईरहेको छु”

स्थानीय जायन्ट भन्ने ग्रोसरीस्टोरमा एकजना नेपालीलाई भेटेपछि आज भन्दा रुन्डै १५ वर्ष अगाडि हामीलाई सहोदर दाजु भेटेको जस्तो भएको थियो । ओहायोको लामो जाडो र हिउँ आरम्भ हुनुअघि हाम्रो मुलुकको दशैं सकिएर तिहार नजिकै आएको समय थियो त्यो । त्यसरी आफूले अकस्मात् दोकानमा नेपाली भेट्नु झन्डै झन्डै असंभव भएको बेलामा यसरी अप्रत्याशित रुपले नेपाली भेटिँदाको खुशी सम्झँदामात्र पनि रमाइलो लाग्छ ।

दुईजना छोरा भएका ती नेपाली परिवार काठमाडौंका रहेछन् । उनी त्यहाँ ओहायोको एक्रन भन्ने विश्वविद्यालयमा पढ्दै रहेछन् । भर्मन्ट बाट केही महिना अघिमात्र सरेर ओहायोको स्टो भन्ने ठाउँमा हामी आउँदा त्यो ठाउँमा अरु पनि नेपाली छन् भन्ने थाहा पाएका थिएनांै र आशा पनि गरेका थिएनौं । यसअघि टेक्ससको ड्यालस, ओक्लोहोमाको स्टिलवाटर र भर्मन्टको वर्लिङटनमा बसेका बेला ड्यालसमा अर्को एक परिवार र एकजना अर्को विद्यार्थी बाहेक नेपाली परिवार नदेखेको हँुदा ओहायोलाई पनि हामीले त्यस्तै ठानेका थियौं । त्यसरी अकस्मात् भेटिएका नेपाली परिवारबारे हामीले घरमा छोराछोरीसँग कुरा गरेको सुनेपछि उनीहरुले पनि एकदम खुशी भएर ”उहांहरुलाई किन घरमा संगै लिएर नआएको, भरे नै भात खान घरमा बोलाउ” भन्न थाले । हामीले पनि फोन गरेर तुरुन्त त्यसै हप्ता घरमा बोलायौं । त्यसदिन हामी सबैलाई आˆनो घरको मामा काका, या दाजुभाइ घरमा आएजस्तो भयो । तिहार नजिकै आइरहेको र उहाँहरुका छोराहरु मात्र भएकाले मैले दायाँ-बायाँ नसोची मेरी छोरीसंग टीका लगाउन ती बाबुहरुलाई निम्ता पनि दिएँ । नभन्दै उहाँहरुले स्वीकार गरेर तिहारमा मेरी छोरीले टीका पनि लगाइदिई । त्यसपछि दशौं वर्ष भयो, उहाँंहरुसँग केही सम्पर्क नै छैन । अहिलेको परिस्थितिमा यो तथ्य जति हास्यास्पद लाग्छ, त्यसबेला यो त्यति नै संवेदनशील र अनौठो अनि अमूल्य संयोग थियो । यस्तो बेलामा एनएजस्तो कुनै नेपाली संस्था छ भन्ने हामीले थाहामात्र पाएको भए पनि हामीलाई घर पुगेकोजस्तो लाग्ने थियो होला ।

ओहायो पाँच वर्ष वसेर हामी १९९८ तिर टेनेसीको न्याभिलमा सरे पछिमात्र एनए को नाम सुन्ने मौका पर्‍यो । एक दशकभन्दा अगाडि स्थापना भएको एनए को अस्तित्व बताउने नेपालीसमेत हामीले भेट्न पाएका रहेनछौं । न्यासभिलमा भएका पाँच नेपाली परिवार देख्न र भेट्न पाउनु नै हाम्रा लागि एउटा संस्था लागेको बेला अरु धेरै मान्छे भएको एनए को नाम नै सुन्न पाउनु आफूले छोडेर आएको गाउँमा टेलिफोन पुग्यो अरे भनेको सुन्नु जत्तिकै खुशीको कुरो थियो । आफूमात्रै नेपाली परिवार भएर बिताएको एकदशकभन्दा पनि लामो समयप्रति पश्चाताप पनि भयो, तर अहिले भए पनि एनए को अस्तित्व सुनेर खुशी पनि लाग्यो ।

हामी न्यासभील सरेको वर्ष त्यहीं नासा भन्ने अर्को त्यस एरियाको संस्थाको सम्मेलन भयो । हाम्रो खुशीको सीमा रहेन । त्यो नै कता हो कता ठूलो नेपाली संस्थामा लागेर खुशीको सीमा नरहेका बेला त्योभन्दा अरु वृहत् एनए पनि छ भन्ने सुन्दा नै त्यो सम्मेलनमा भाग लिने उत्सुकता लागेको थियो ।

नभन्दै त्यो दिन पनि आयो, दुईहजार सालमा वाईटुके भनेर एनएले अरु सबै संस्थाहरुका साथमा एटलान्टामा आˆनो वाषिर्क सम्मेलन गर्ने भयो । न्यासभिलबाट चार घन्टा ड्राईभ गरेपछि आउने एटलान्टा हामी यसै पनि बेला बेला जाने गरेकै थियौं, अब त सुनमा सुगन्ध हुने भयो । हामी आˆना लागि भन्दा पनि छोराछोरीका लागि खुशी भयौं । बाबु र आमामात्र नेपाली देखेर हुर्किएका छोराछोरीले अरु थुप्रै नेपाली अरु कोही कोही त आˆनो उमेरका केटाकेटी पनि देख्न पाउने भए भनेर खुशी मान्ने ममात्रै थिइन होला । आंैलामा गन्ने नेपाली देखिराखेकोमा एकैचोटि हजारांै हजारको संख्यामा देख्न पाएको नेपाली समूह हाम्रा लागि बरदान नै थियो ।

एटलान्टामा भएको एनए सम्मेलन हाम्रो पहिलो एनए अनुभव थियो । यस्तो सम्मेलन मेरो जस्तो परिवारका लागि अत्यावश्यक थियो । त्यो सम्मेलनले तुलनात्मकरुपमा थोरै समय र अर्थ खर्चेर नेपाल पुर्‍याएको थियो । सम्मेलनमा हुने विभिन्न फोरमहरु, भेटघाट भलाकुसारीहरु , सांस्कृतिक कार्यक्रमहरु, नेपाली खाना र नेपाली सामानको प्रदर्शन यी सबै नै त्यसबेला नेपालसँग र नेपाली परिवेशसँग भोकाएको हाम्रो मन तृप्त भएको थियो । रातरातभरि नसुतेर हामी कोही चिनेको पो भेटिइहाल्छ कि भनेर सबैको अनुहार नियाल्न थाल्यौं, छोराछोरी आफूजस्तै अरु नेपाली देखेर कोठा बाहिर बाहिर रातभरि रमाउन थाले । सम्मेलनमा भएका सबैजसो फोरममा रिठ्ठो नबिराई उपस्थित हुन मन लाग्यो । बल्ल बल्ल भेटिएका अनगिन्ती नेपाली अनुहारहरु हेरिरहन मन लाग्यो । नाता पर्ने नपर्ने, चिनेको नचिनेको, भेटेको नभेटेको कुनै परवाह थिएन । नेपाल पृष्ठभूमि हुनु र आफूजस्तो देखिने समूह भेटिनु सबैभन्दा खुशीको विषय थियो । त्यसभित्रका साइनो, वर्ग, वर्ण, जाति आदिका सीमारेखा छन् भन्ने तर्फ पनि ध्यान गएन । त्यसभित्रका राजनीतिको त प्रश्न नै रहेन । आफन्तै आफन्त लाग्ने त्यो भीडमा २० वर्षअघि चिनेका साथीसँग भेट भयो, त्यस्तै उहिल्यै नेपालबाट बेपत्ता तर कहाँ बारेको अनभिज्ञताका केही परिचित अनुहार देखिइहाले पनि पहिले देखेको र चिनेको उनीहरुको अनुहारमा २० वर्ष जोडेपछि फेरि परिचयको आवश्यकता पर्ने तथ्यलाई पनि नजिकैबाट देख्न पाइयो । सांस्कृतिक कार्यक्रम, कविता सम्मेलन, अनि अरु तरह-तरहका फोरमहरु सकेसम्म सबैमा सम्मिलित हुने रहर जागेर आयो । भोकले चुर भएको बेला कुनै भोजमा पुगेर के खाने, के नखाने जस्तो डेढ दशकपछि भेटिएको नेपालसँग भेट हुन सक्ने अवसर सबै नै समेट्ने रहर लाग्यो । त्यसबेलादेखि नेपाली भेला अर्थात् अर्को एनए सम्मेलन पर्खिनु भनेको अर्को तिज पर्खिनु या अर्को दशैं पर्खिनुजस्तो भयो । झन्डै दुईदशक पहिलेदेखि विद्यमान एनए त्यसबेला सम्म आफूले भेट्ने मौका नपाएकोमा नियति र आफैलाई धिक्कार्न मन लाग्यो । किनभने त्यसबेलाको परिस्थितिमा एकपटक मात्रै भाग लिने सौभाग्य पाएको एनएमा अरु दशपटक भाग लिन पाएको भए यसबाट म र मेरो परिवार त्यसमा पनि केटाकेटीले अनुभव गर्न सक्ने नेपाल अमूल्य हुने थियो । त्यसपछिका कतिपय अवसरमा हामीले एनए अनि त्यो नभए स्थानीय नासाका सम्मेलनहरुको उपस्थितिलाई परम्परा बनाएका थियौं ।

त्यसरी आजभन्दा एकदशक मात्र अगाडि एउटा आवश्यकताको रुपमा मान्न सकिने अहिले आएर रहरका रुपमा हुन थालेको छ । विगत दस वर्षमा नेपाली अमेरिका आउने परिपाटीमा सयौं गुनाले फरक परेको छ । पहिले दुई परिवार रहेको ड्यालसमा २० हजारभन्दा बढीको संख्यामा नेपालीको उपस्थिति छ भने त्यही अनुपातमा अमेरिकाका कुनै पनि त्यस्ता कुना नहोलान् जुन कुनामा नेपालीको उपस्थिति नभएको होस् । अमेरिकामा भेटिएका नेपालीकै नाताले आˆनो लाग्ने अनुभव अब ऐतिहासिक तथ्य भैसकेको छ । अब एनए जस्ता संस्था नेपालीहरुले अमेरिका हुने आˆना परिवार भित्रैबाट समेत खोल्न सकिने जस्तै भएको छ । यस्तोमा एनएले पहिले जस्तै आम नेपालीलाई सहभागी हुन जानै पर्ने आकर्षण दिन गाह्रो भएको छ भने एनएको विधानमा उल्लेख गरे अनुसार स्थानीय मूलका मान्छेको सहभागिता बढाउने कार्य त सपनाको कुरा जस्तो देखिएको छ ।

आफन्त भेट्ने, नेपालको निकट पुर्‍याउने, नेपालीत्व झल्काउने एउटा भेटघाट र स्वच्छ भलाकुसारीको आदान-प्रदानको कम तर अव्यवहारिक राजनीति, उछृङखलपन, अनुशासनहीन क्रियाकलापको धमिलो बादल बढी देखिन थालेपछि एनएमा सहभागी हुने निर्णय आवश्यकताले भन्दा रहरले बढी प्रभावित देखिएको छ । सानो नेपाल नै अमेरिकाभित्र सिर्जिसकेको यो वर्तमान परिप्रेक्षमा नेपालभित्रका सबै रीतिरिवाज, सामाजिक, राजनीतिक, सकारात्मक र नकारात्मक तत्व पनि यो सानो नेपालभित्र विद्यमान समयमा प्राविधिक सुलभताले नेपाल नजिकिँदै गइरहेको छ । अलिकति नेपाल र धेरै नेपालीत्व खोज्न र भेट्न अब जुलाई चारको हप्ता पर्खिनु पनि पर्दैन । अहिले त एनए एक रहर भएको छ, रहर लाग्ने सहभागी बन्छन्, रहर नलाग्नेले टाढैबाट कार्यक्रमप्रति शुभकामना व्यक्त गरेर बस्छन् ।

Leave a Reply