सम्बन्धको पीडा

प्रतिमा बाँस्कोटा
कलंकीकी नर्वदा भुजेल (नाम परिवर्तन) महानगरीय प्रहरी अपराध महाशाखामा दिनहुँ धाइरहेकी छन् । मागी बिहे गरेको ६ महिनापछि उनलाई बिहे गर्नुअघिका प्रेमीले फोन गरेर पटकपटक पैसा लैजान थाले । ‘नदिए श्रीमान्लाई ‘पहिलेको सम्बन्ध’ का बारेमा बताइदिने भन्दै धम्काउँछ, नगद २० हजार लगिसक्यो, हिजो फेरि फोन गरेर १५ हजार माग्दै थियो,’ उनले दुःखपूर्वक सुनाइन् । ‘पटकपटक कहाँबाट ल्याएर दिने ?’ उनको मुहारमा अत्यासको छाप प्रस्टै देख्न सकिन्थ्यो । प्रहरीले पीडक केटालाई बोलाएर फेरि नधम्क्याउने र पैसा नमाग्ने सहमति गराएर पठायो ।
अचेल अपराध महाशाखाको महिला सेलमा दिनहुँ पूर्वप्रेमी र प्रेमिकाबाट ब्ल्याकमेल भयो भन्दै उजुरी दिने संख्या बढेको छ । तर केटाभन्दा केटी बढी पीडित छन् । प्रेम सम्बन्ध भए पनि दिगो नरहेको तथा कुनै कारणबस बिहे हुन नसकेपछि धम्क्याउने घटना बढेका छन् ।
तर कतिपय घटनामा पूर्वप्रेमीबाट महिलामात्र होइन, पुरुष पनि पीडित हुने गरेका छन् । ‘अलि ठूला घरानाका पुरुषलाई महिलाले धम्क्याउने गरेको भेटिन्छ,’ एक प्रहरी अधिकृत भन्छन् । पछि केटीलाई ल्याएर प्रहरीले सोध्दा आफूलाई धोका दिएका कारण उसको घरबार बिगार्न धम्क्याएको बताउँछन् । प्रहरीले त्यसपछि फेरि नधम्क्याउने सहमति गरेर पठाए पनि धम्कीका घटना सजिलै सेलाउने खालका हुँदैनन् । पुरानो सम्बन्धले घरबार बिगि्रने चिन्ता पुरुषलाई भन्दा बढी महिलालाई हुने गरेको प्रहरीको भनाइ छ ।
‘बिहेअघिको प्रेम सम्बन्धमा तँलाई घुमाउँदा यति पैसा खर्च भयो । तैले मसँग बिहे गरिनस्, फिर्ता गर्, नभए मेरी भइनस्, अर्काेसँग पनि तँलाई चैनले बाँच्न दिन्नँ’ भन्दै पूर्वप्रेमीले धम्क्याएपछि अर्की एक महिला आजित भएर प्रहरीको शरणमा आएको बताउँछिन् । श्रीमान्को परिवारसँग सम्बन्ध बिगि्रने गरेका कारण महिलाहरूले यस्ता विषयलाई गुपचुप गरेर लुकाउने गरेका तथ्यहरू छन् । कतिपय महिला त प्रहरीमा घटना पुगेपछि सार्वजनिक हुने डरले यस्ता निकायसम्म पनि आउने हिम्मत जुटाउन सक्दैनन् ।
पुरानो सम्बन्ध खुल्ने चिन्ताले पुरुषभन्दा महिला बढी त्रसित देखिने प्रहरी बताउँछ । उनीहरू नाम, ठेगाना गोप्य रहने सर्तमा मात्र समस्या खोल्न चाहन्छन् । केही समयअघि पनि एक महिला फोनबाट धम्की आएको भन्दै प्रहरीमा आइपुगिन् । प्रहरीले घटनाक्रम लेखेर उजुरी हाल हामी समातिदिन्छौं भन्दा उनले मानिनन् । ‘नसमाती सोझै फोनबाट गाली गर्न मिल्छ भने गरिदिनुहोस्, उजुरी नहालौं ।’ श्रीमान्ले थाहा पाए घरबाट निकालिने उनको आशय थियो । प्रहरीले गाली गर्न नमिल्ने भनेपछि उनी श्रीमान्ले थाहा पाउने डरले उजुरी नै नहाली घर फर्किन् । टोल छरछिमेकमा समेत बदनाम भइने चिन्ता हुन्छ । विवाहअघिसम्म भएका कुराहरू, सम्बन्धका प्रमाणहरू, चिठीपत्र, तस्बिर लिएर महिलालाई धम्क्याउने गरेका घटनाहरू प्रशस्त आउन थालेका छन् । बिहेअघिसम्म दुवैजना रमाइरहेका हुन्छन्, बिहेपछि भने महिलाकै गल्ती हुने घटना देखिने गरेका छन् । ‘छोरीको इज्जत सियाको टुप्पमा हुन्छ भन्छन्,’ ती महिला भन्छिन्, ‘यस्ता धम्कीले परिवार बिगि्रन सक्छ ।’
‘तेरी श्रीमती मेरी पूर्वप्रेमिका हो’ भनेर प्रचार भइदिँदा श्रीमान्सँगको सम्बन्ध मात्र होइन घरबारै बिगि्रने चिन्ताले महिलाहरू मानसिक त्रासमा हुन्छन् । ‘जे पायो, त्यही म्यासेज पठाइदिन्छ, मोबाइल कहिले श्रीमान्ले हेरिरहेका हुन्छन्, त कहिले छोराछोरीले,’ ती महिलाले भनिन् ।
प्रहरीको तथ्यांकमा पनि यस्ता घटनाबाट महिला बढी पीडित भएको देखिएको छ । ‘दैनिक यस्ता उजुरीहरू आउने क्रम बढ्दो छ, ती महिला वा पुरुष आपसी छलफलबाट निकास ननिस्किएपछि न्याय खोज्दै आएका हुन्छन्,’ प्रहरी भन्छन् । सामाजिक समस्याको रूपमा बढ्दै गरेको यो मुद्दालाई हल्का ढंगबाट मात्र हेरिनु हुँदैन । महिला-पुरुष आफैंले यस्तो जोखिममा नपर्न सजग र सचेत हुनु जरुरी छ ।
pratima.phidim@gmail.com














