गजल – समानता?

उमा सुवेदी
इज्राइल
नियतिको भर परी रूँदै बसे हार हुन्छ
संघर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ ।
एकै गर्भ उस्तै पीडा एउटै हुन्छ प्रसव त्यो
छोरी जन्मे अभिशाप छोरा उपहार हुन्छ?
छोराछोरी बराबरी सुनाउने नारा भए
सुन्ने अनि सुनाउनेकै नीति दुई धार हुन्छ ।
अन्ध परम्परा अब तोड्नै पर्छ सबै मिली
दुबै पाङ्ग्रा सँगै गुडे जीवन कहाँ भार हुन्छ?














