खाडीमा नेपाली महिला


मनिषा गौचन
21 June, 2010
काठमाडौं

लामो समयदेखि खाडी मुलुक र नेपाली महिला कामदारको
विषय पत्रपत्रिकाहरूका ठूलाठूला हेडलाइन बन्दै आएका छन् । सञ्चारमाध्यमहरूले निरन्तर
रूपमा विदेशी भूमिमा नेपाली चेलीहरूले भोगेका कथाव्यथाहरूलाई समेटेर सबैको ध्यान आकृष्ट
गर्ने प्रयास गर्दै आइरहेको छन् । यी प्रयास फगत हर्न, सुन्न र पढ्न मात्र नभएर यसप्रति
सबैको ध्यान आकृष्ट गरी समस्याको समाधान गर्न विभिन्न व्यक्ति, संघ/संस्था अझ बढी राज्यले
जिम्मेवारपुर्ण भूमिका निभाउन आवश्यक पहल गरोस् भन्ने उद्देश्य जोडिएको छ । तर, यसप्रति
राज्यको ध्यान केन्द्रित हुन सकेको छैन ।

वैदेशिक रोजगार अवसरसँगै एउटा चुनौती पनि हो । यी चुनौती पार गर्न सजिलो छैन । अशिक्षा, ज्ञान र दक्षताको अभाव अनि फितलो सरकारी नीति नियम यी सब विदेश पुगेपछि आइपर्ने समस्याका कारणहरू हुन् । यी कारणहरूले गर्दा विदेशमा लाखौं नेपालीहरू अलपत्र परिरहेका छन् । यिनको अवस्था कम दर्दनाक छैन । अझ विशेष गरी महिलाहरूको कथा त झन् भयानक लाग्छन् । दर्गम गाउँदेखि लिएर सहर नजिकैका महिला तथा युवतीहरू खाडी मुलुकमा दर्दनाक पीडा सहेर बाँच्न बाध्य छन् । घटनाहरू जति नै सार्वजनिक भए पनि घटनामा कमी आएको छैन । दिनदिनै भारतको बाटो भएर खाडी मुलुकमा पुग्ने महिला तथा युवतीहरूको संख्या थपिँदै गएको छ । ती जानेहरू दयनीय हालतमा समाचारका पात्र बनेका हुन्छन् । सबैजसो घटनाहरू बलात्कारसँग जोडिएका हुन्छन्।

एक दैनिकमा छापिएको लेखमा तीनजना महिलाको उस्तै
कथा समेटिएको थियो । सबैजना घरमालिक र उसका आफन्त तथा छिमेकीहरूबाट बलात्कृत भएको खबर थियो, त्यहाँ । यो खबर यी तीनजना महिलाको मात्र नभएर खाडी मुलुकमा रहेका हजारौं महिलाको खबर हो । सोझा र गरिबीले थिचिएका महिला तथा युवतीहरूलाई त्यस्तो मुलुकमा पठाउन, जहाँ शारीरिक तृप्तिका लागि जबर्जस्त आक्रमण गरिन्छ । आफैंले काम गर्ने घरमा मालिकहरूबाट बलात्कृत भई गर्भवती भएका, आमा बनेकाहरूको समाचार पनि हामीले धेरै पढयौं र सुन्यौं पनि । विभिन्न समयमा शारीरिक तथा मानसिक तनाव लिएर फर्केका महिला तथा युवतीहरू भेटिन्छन् । सेल्स गर्ल र हाउसमेडको नाममा साउदी अरब, कुवेत, लेबनान, मलेसियाजस्ता राष्ट्रहरूमा ओसारिएका यी महिला तथा युवतीहरूको भोगाइले राज्यको उपहास गरिरहेको छ र पनि ध्यान यसप्रति खिचिएको छैन । असुरक्षाका कारण महिलाहरूलाई खाडी मुलुक जान प्रतिबन्ध लगाइएको नाटक देखाइ भित्रभित्र भने बाटो खुकुलो पारिदिएको छ, राज्यले । जसले गर्दा दिनहुँ ओइरो लाग्छन् बेरोजगारी, अभाव र द्वन्द्वले लखेटिएका महिलाहरू । झन्डै दुइ लाखको हाराहारीमा नेपाली महिलाहरू खाडी मुलुकमा घरेलु कामदारका रूपमा कार्यरत छन् ।

गत महिना दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलमा
एकजना बहराइन जान लागेकी युवतीलाई भेटें । डिपार्चर फर्म भर्न नजानेर ऊ अलमलिएकी थिई
। उसलाई एकजना व्यक्तिले सहयोग गरेको थियो । फर्म भरिसकेपछि उसले पुरानो एउटा झोला
उचाली र पासपोर्ट अनि टिकट बोकेर गई । केही समयपछि विमानस्थलभित्रै पुनः हाम्रो भेट
भयो । ऊ मलाई देखेर मुसुक्क हाँसी । दोस्रो चोटि भेट भएकाले ऊ हाँसेकी थिई जसले गर्दा
मलाई ऊसँग कुरा गर्न निकै सजिलो पनि भयो किनकि केही बेरदेखि उसैको बारेमा मेरो मनमा
कुरा खेलिरहेको थियो । कुरा गर्दै जाँदा यो थाहा पाएँ कि ऊ पहिलो पटक कामका लागि बहराइन
जान लागेकी रहेछ । तर, उसलाई बहराइनको कुन ठाउँ, काम के गर्ने केही पनि थाहा थिएन ।
बहराइन पुगेपछि मान्छे लिन आउँछ, यही आधारमा ऊ बहराइन जाँदै थिई । एउटी अशिक्षित, भर्खरकी १५ वर्षी यी युवती बहराइन गएर गर्छिन् के त – मनमा खुल्दुली लागि नै रहयो । जेहोस, होसियारी हुने सल्लाह दिएर म ऊबाट टाढा भएँ । विदेशी भूमिमा अलपत्र परेकाहरूको समाचार सुन्दा, पढ्दा म तिनै युवतीलाई सम्झन पुग्छु, कलिलो अनुहार, पुरानो झोला, सामान्य पहिरन अनि कौतुहलताको आँखा । यस्ता हजारौं युवतीहरू विदेसिएका छन् । विदेसिएर दुःख पाएकाहरू अरूलाई यस्तो नपरोस् भनेर सन्देश दिन चाहन्छन् पनि ।

फर्केर आएका महिलाहरूले अन्य महिलालाई सचेत गराउन खोजेको प्रयासलाई आत्मसात् गर्नैपर्छ । यी महिलाहरू नै समस्या समाधानका लागि राम्रो उदाहरण बन्न सक्छन् । व्यवस्थित प्रक्रियाअनुरूप यिनै महिलाहरूमार्फत अन्य महिलाहरूलाई
खाडी मुलुकमा जाँदा हुने जोखिमको बारेमा प्रचार गर्न सके हाम्रा धेरै दिदीबहिनीहरू
खाडी मुलुकमा पुगेर यौनजन्य हिंसाका शिकार बन्ने थिएनन् ।
यसका लागि राज्यले छुट्टै नीति निर्माण गरी कार्यान्वयन गर्न सके अलपत्रमा परेर फर्केका महिलाहरूसँगै अन्य लाखौं महिला तथा युवतीहरूले आफ्नै मुलुकमा राम्रो अवसर प्राप्त गर्ने थिए ।

सरकारको अस्पष्ट नीतिनियमकै कारण विदेशी भूमिमा महिला कामदारको अवस्था नाजुक भएको हो भन्न सकिन्छ । अध्यागमन विभागले खाडी मुलुकमा महिलाहरूलाई जान निषेध गरे पनि वैदेशिक रोजगार विभागले धमाधम महिला तथा युवतीहरूलाई स्वीकृति पत्र दिइरहेका हुन्छन् । सरकारले ठोस कदम समयमै चाल्न नसकेमा हरेक दिन हाम्रा दिदीबहिनीहरू धन कमाउने सपनामा अन्धकार भविष्य बोकेर खाडी मुलुकमा पुग्नेछन् ।

Leave a Reply