नयां वर्ष २०६७ कति शुभ कति अशुभ ?

बैशाख १, २०६७

४० हजार नेपालीहरूले जब टुंडीखेलमा भारतीय बाबा रामदेवको प्रशिक्षण तथा अगुवाइमा योग गर्दै थिए ठीक त्यति नै बेला रामदेवको एउटा आपत्तीजनक भनाइ सार्वजनिक भयो । उनले भगवान बुध्दलाई भारतमा जन्मिएको भनेको कुरा एउटा पुस्तकमा छापिएको रहेछ । ६ दिने उक्त योग शिबिर सकिए लगत्तै डा. उपेन्द्र महतोले उनलाई उनै भगवान बुध्दको मुर्ती उपहार दिए । बुझ्नेलाई यो निकै अर्थपुर्ण थियो, सबैलाई उपदेश दिंदै हिडेका रामदेवलाई डा. महतोको उपदेश थियो कि बाबा तिमी असत्य नबोल, भगवान बुध्द एशियाकै तारा हुन तर उनी नेपालमै जन्मिएका थिए, भारतमा होइन, तिमी भारतीय बाबा यसका उपहारका मात्र हकदार छौ । यो उपहार मार्फत डा. महतोले ठुलै शुभकामना दिए, रामदेवलाई मात्र होइन सबै नेपालीहरूलाई पनी, रामदेवको आपत्तीजनक भनाइको बिरोध गर्ने अति शान्तिपुर्ण, शिष्ट, कुटनैतिक र सम्मानजनक तरीका सिकाएर ।

यसपाला हामी धेरै एनआरएनहरूले प्रमुख संरक्षक डा. महतोबाट नयां बर्षको शुभकामना पाउन सकेनौं, त्यसो त बर्तमान अध्यक्ष देवमान हिराचनबाट पनी शुभकामना आएन जबकी अरू सैयौं एनआरएनएका पदाधिकारीहरू लगायत अरू धेरै समाजका अग्रज तथा प्रतिष्ठित ब्यक्तिहरूबाट आएका शुभकामनाहरूले इमेल तथा एसएमएसको इनबक्स भरियो । पत्र पत्रिका, रेडियो, टिभी, अनलाइन मिडिया सबैतिर शुभकामनाहरू छ्याप छ्याप्ती देखिए । ती सबैको जबाफ पठाउन त परै जावस, पढ्न मात्र पनी ड्युटी छोडेर छुट्टी लिन आवश्यक थियो । ती सबै शुभ कामनाहरू पढदा यस्तो लाग्थ्यो कि अब नेपाल र नेपालीहरूका लागी अशुभ कहीं कतै देखिने छैन, सर्बत्र शुभ नै शुभ देख्न, भोग्न र अनुभुति गर्न पाइने छ । तर यथार्थ हाम्रा सामु प्रस्ट छ, के हुंदैछ र अब के होला, अनुमान गर्न सकिने स्थिती छ । हामी सबैको सही दिसामा सच्चा प्रयास हुन सकेमा परिस्थिती अवश्य परिवर्तन हुन सक्दछ तर फगत शुभ कामनाका शब्दहरू ? शब्दहरू भन्दा कर्म र ब्यवहारले धेरै अर्थ, मह्त्व र प्रभाव राख्दछन जुन अहिलेको बास्तविक आवश्यकता पनि हो । एक छिन शुभ कामना दिनेहरू नै हेरौं न, माधव नेपाल र प्रचण्डका शुभ कामना, ज्ञानेन्द्र र राम वरण यादवका शुभ कामना, बिजय गच्छदार र उपेन्द्र यादवका शुभ कामना अनि यसपाला त भारत र अमेरीकी राष्ट्रपतिले समेत नेपाली नयां बर्षका अवसरमा शुभकामना दिए, अब नेपाल र नेपालीहरूका लागि के हुंदा यी ब्यक्तिहरूका शुभ कामनाहरू पुरा हुने होलान ? किनकी यिनीहरूका आ आफ्नै दृष्टिकोणहरू, रूची, इच्छा र स्वार्थहरू छन जो परस्पर मिल्दैनन कतिपय सवालमा, उदाहरणार्थ नेपालको बर्तमान सरकार ढल्दा कतिलाई शुभ लाग्ला भने कतिलाई अशुभ ।

अहिलेको सांचो खांचो भनेको साझा स्वार्थ नै हो जो सम्पुर्ण नेपाल र नेपालीहरूको बृहत्तर हीतमा केन्द्रत हुन जरूरी छ । यसका लागी सबैले ब्यक्ती भन्दा समाज ठुलो, समाज भन्दा राष्ट्र ठुलो मान्दै आफ्नो पार्टी, जाति, क्षेत्र, धर्म या सम्प्रदायको संकिर्ण स्वार्थ र घेराबाट माथी उठन आवश्यक छ । नत्र हामी नेपाली त रहौंला तर नेपाल न रहन सक्छ । त्यसैपनी बुध्दलाई भारतले र सगरमाथालाई चीनले तान्न खोज्दैछन, भोलीका दिनमा सीतालाई कुनै प्रदेशमा अनि भृकुटीलाई अर्को प्रदेशमा खोज्नुपर्ने हुनसक्दछ ।

अतः कमसेकम सार्वजनिक या सामाजिक पद धारण गरेकाहरूले आफ्नो पदीय जिम्मेवारी सकुशल निभाउन सक्नुपर्यो । आंफुलाई ब्यक्तिगत लाभ मिल्ने भए मरिमिटेर लाग्ने तर स्वयमसेवी बनी निस्वार्थ सामाजिक काम गर्नु परे पछी सर्ने या आफ्नो पदीय जिम्मेवारीबाटै पञ्छिनेहरूबाट जतिसुकै मीठा शब्दहरू प्रयोग गरेता पनी त्यस्ता शुभ कामनाहरूको खोई के अर्थ रहला र ?
डा. महतोले हालैको एउटा अन्तरवार्तामा भन्नुभएको छ “नेपालीहरूको धेरै बोल्ने बानी हुन्छ, अबका दिनमा हामीले थोरै बोली धेरै गरेर देखाउनु पर्दछ ।” सांच्चै वहांले नयां वर्षको “शुभ कामना” त पठाउनु भएन तर धेरै “शुभ कार्यहरू” गरेर देखाउनु भएको छ यस नयां वर्षको पुर्बसन्ध्यामै । हामीले त्यस्तै गर्न त नसकौंला तर वहांले देखाएको बाटोमा हिडन त सक्छौं कि ?

2 Comments

  1. दुर्गा खनाल (रियाद)

    नमस्कार मैलेपनी यस्मीन राजको बिचारसंग सहमत हुदै यि बुंदालाइ पनी ध्यानाकर्षण गराउन चांहें (1)” कमसेकम सार्वजनिक या सामाजिक पद धारण गरेकाहरूले आफ्नो पदीय जिम्मेवारी सकुशल निभाउन सक्नुपर्यो । आंफुलाई ब्यक्तिगत लाभ मिल्ने भए मरिमिटेर लाग्ने तर स्वयमसेवी बनी निस्वार्थ सामाजिक काम गर्नु परे पछी सर्ने या आफ्नो पदीय जिम्मेवारीबाटै पञ्छिनेहरूबाट जतिसुकै मीठा शब्दहरू प्रयोग गरेता पनी त्यस्ता शुभ कामनाहरूको खोई के अर्थ रहला र ? ” (2) डा. महतोले हालैको एउटा अन्तरवार्तामा भन्नुभएको छ “नेपालीहरूको धेरै बोल्ने बानी हुन्छ, अबका दिनमा हामीले थोरै बोली धेरै गरेर देखाउनु पर्दछ ।” (3) हामी नेपाली त रहौंला तर नेपाल न रहन सक्छ । त्यसैपनी बुध्दलाई भारतले र सगरमाथालाई चीनले तान्न खोज्दैछन, भोलीका दिनमा सीतालाई कुनै प्रदेशमा अनि भृकुटीलाई अर्को प्रदेशमा खोज्नुपर्ने हुनसक्दछ ।

  2. ६ दिने उक्त योग शिबिर सकिए लगत्तै डा. उपेन्द्र महतोले उनलाई उनै भगवान बुध्दको मुर्ती उपहार दिए । बुझ्नेलाई यो निकै अर्थपुर्ण थियो, सबैलाई उपदेश दिंदै हिडेका रामदेवलाई डा. महतोको उपदेश थियो कि बाबा तिमी असत्य नबोल, भगवान बुध्द एशियाकै तारा हुन तर उनी नेपालमै जन्मिएका थिए, भारतमा होइन, Noteworthy lines .

Leave a Reply