साउदी अरबमा नयाँ राजदूतलार्इ एनआरएनएको स्वागत

0
30

Group Photo at NEKSA 9Jun17

९ जुन, २०१७

तेज थापा, रियाद साउदी अरब ।

साउदी अरबमा नव आगन्तुक राजदूत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंहलार्इ आज वहांकै कार्यकक्षमा पुगी एनआरएनए साउदी अरबले हार्दिक स्वागत गरेको छ । अध्यक्ष नारायण पासवान सहित महासचिव तेज थापा, सचिव बिशाल श्रेष्ठ, सदस्य द्वय जोन अर्याल र योगेन श्रेष्ठ, पुर्बी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ, अल कासिम क्षेत्रका युवा संयोजक राज कुमार श्रेष्ठ, प्रवक्ता कृष्ण अधिकारी र सदस्य गिरिधारी खनालका साथै एनआएनएको यस टोलीमा एनसिसी साउदीका प्रमुख सल्लाहकार डोर बहादुर कार्की र आइसिसीको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिका संयोजक धरम के.सी. पनि सरिक हुनुहुन्थ्यो भने दूतावासका नियोग उप प्रमुख आनन्द शर्मा, श्रम सहचारी अम्बिका अधिकारी र द्वीतिय सचिव बिपिन दबाडी पनि सरिक हुनुभएको थियो ।

एनसिसी साउदी अरबका अध्यक्षले झण्डै २ बर्षको अन्तरालमा निकै प्रबुद्ध ब्यक्तित्वलार्इ राजदूतका रूपमा पाउंदा सिंगो संस्था निकै हर्षित र उत्साहित भएको बताउदै साउदी अरबमा मुख्य समस्या भनेकै म्यानपावर एजेन्सी र तिनका एजेन्टहरूबाट कामदारहरूलार्इ साउदी अरबको यथार्थ नबतार्इ झुठो जानकारी तथा प्रलोभनमा पार्दा तथा रोजगारदाताहरूसंग सिधा डिल नगरी बिचौलिया, कमिशन एजेन्टहरूसंग भिषा खरिद गर्दा हुने गरेको र साउदीमै धन्दारत नेपाली समेतले कमिशनकै लागि नेपाली कामदार भगाउने र शुरूका केही महिना तलब दिएर पछि तलबै नदिर्इ ठगेर अलपत्र पार्नेहरूबाट समस्या थप जटिल हुने गरेको धरातलिय यथार्थ महामहिम राजदूतलार्इ अवगत गराउंदै समस्याको दीर्घकालिन र स्थार्इ समाधानका लागि यस्तो दलाली र कमिशनखोरीको समूल अन्त जरूरी भएको बताउनुभएको थियो । अध्यक्ष पासवानले एनसिसी साउदी अरबमा रहेका बिभिन्न कोषहरूबारे राजदूतलार्इ जानकारी गराउंदै बिगत देखि नै संघले साउदी अरबमा गर्दै आएका बिभिन्न श्रमिक सेवा, उद्धार तथा न्यायिक उपचारका लागि दूतावाससंगको सहकार्य र पहलकदमीबारे पनि जानकारी दिनुभयो । अन्तमा एनसिसी साउदीको राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर २ मा दमाम हुन लागेको अग्रिम जानकारी साथै आसन्न क्षेत्रिय समिति रियादको अधिवेशनको निमन्त्रणा समेत दिनुभएको थियो ।

First meeting with New Ambassador

यसै अवसरमा आइसिसीको FEMWWC टास्क फोर्सका संयोजक धरम के.सी.ले पनि राजदूतज्युको स्वागत गर्दै कार्यदलले एनसिसी साउदी संगको सहयोग र सहकार्यमा साउदी अरबका कतिफ, खोबर र जेद्धामा सन २०१६ मा गरिएका स्थलगत श्रमिक सर्वेक्षण तथा पछिल्लो समयमा पीडित कामदारहरूको न्याय, उद्धार र क्षतिपूर्तिका लागि कार्यदलकै बिशेष पहलमा थालिएका केही पाइलट केशहरूको अद्यावधिक अवस्थाबारेको प्रतिवेदन समेत पेश गर्दै नयां राजदूतज्युलार्इ एक पत्र नै बुझाउनुभएको छ जुन यसप्रकार छः

——————————————————————————————–

९ जुन २०१७

नेपाली दूतावास

रियाद, साउदी अरब

बिषयः साउदी अरबमा नेपाली श्रमिकहरूको अवस्था र वश्यक कुटनैतिक पहल

महामहिम राजदूतज्यु,

हामी ५-६ लाख नेपाली श्रमिकहरूले कर्मभूमिका रूपमा रोजेको साउदी अरबमा उच्चस्तरिय प्राज्ञिक ब्यक्तित्वलार्इ हाम्रो साझा अभिभावकका रूपमा पाउंदा हामी बिशेष खुशी छौ, हार्दिक स्वागत गर्दछौ ।

गैर आवासीय नेपाली संघ बिश्वभरी नै आप्रबासी नेपाली श्रमिक समुदायमा पनि सहयोगी साझा संस्थाका रूपमा सुपरिचित छ । साउदी अरबमा पनि यहांको राष्ट्रिय समन्वय परिषद (एनसिसी)ले नेपाली दूतावास रियाद तथा महाबाणिज्यदूतावास जेद्धासंग हातेमालो गर्दै दूतावासको सहयोगी बन्दै श्रमिक समस्या समाधान तथा भैपरि आउने सेवा स्वयमसेवकका रूपमा निशुल्क प्रदान गर्दै आएको छ ।

संघको अन्तराष्ट्रिय समन्वय परिषद मातहतको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिले एनसिसी साउदी अरब संगको सहकार्य र सहयोगमा २०१६ मा स्थलगत रूपमा गरेको श्रमिक सर्वेक्षण तथा तदुपरान्त कार्यदलकै पहलमा थालिएको पीडित कामदारहरूको न्यायिक उपचारका क्रममा समेत साउदी अरबमा र समग्रमा बैदेशिक रोजगारमै अझैपनि केही ठूलै र जटिल समस्याहरू अद्यापी रहिरहेको सुस्पष्ट देखिएको छ । महामहिमज्युको जानकारी तथा अावश्यक रचनात्मक सुधारात्मक पहलको अपेक्षा राख्दै उक्त सर्वेक्षण प्रतिवेदन तथा पाइलट केशका रूपमा लिइएका केही उजुरीहरूको ताजा अद्यावधिक रिपोर्टले महामहिमज्युको स्वागत गर्न पाउनुलार्इ हामीले एउटा सुसंयोग मानेका छौ ।

समस्या संक्षेपमा यिनै हुन, छनः

  • बिना रसिद चर्को शुल्क (खर्च) तिर्नुपर्ने बिवशता
  • तलब नपाउनु, घर फर्किन नपाउनु, न्याय र क्षतिपूर्ति नपाउनु
  • कमजोर कानून, फितलो कार्यान्वयन, दरिलो दण्डहिनता

महामहिमज्युको कार्यकालमा उपरोक्त समस्याहरू निराकरण भएको हेर्न पाउं, हामी सदैब सहयोगीका रूपमा रहिरहनेछौ।

धरम के.सी.

संयोजक

बैदेशिक रोजगार तथा अाप्रबासी कामदार कल्याण समिति (FEMWWC)

गैर अावासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC)

———————————————————————————————————————-

Handing over letter to New Ambassador to KSA

सर्वेक्षणमा पाइएका मुख्य तथ्यांक तथा बिवरणहरूको सारांश यसै साथ संलग्न छन । कतिफ तारूतबाट ५३ जना, खोबरबाट १३ जना र जेद्धाबाट १४ जना सहभागी रहेको यस स्थलगत सर्वेक्षण राम्ररी सञ्चालन भैरहेका सुस्थापित कम्पनीहरूमा गरिएकाले अधिकांशको काम तथा तलब फरक नपरेको परन्तु धेरैले बृत्ती बिकास गर्दै अदक्षबाट दक्ष बन्दै हाल तलबमा समेत बढोत्तरी गरेको देखिएको छ भने अर्कोतिर सन २००२ मा मात्र रू. ७,००० तिरेर साउदी आएको तथ्य भेटियो भने सन २०१६ मा रू. १,५०,००० तिरेर साउदी आउने कामदार पनि भेटिएका छन । बिगतमा केहीले रू. ६०,००० सम्मको रसिद पाउने गरेकोमा हाल रू. १,५०,००० तिर्नेले समेत रसिद नै नपाएको तितो तथ्य सुस्पष्ट भएको छ । जबकि पछिल्ला केही बर्षमा नेपाल सरकारले फ्रि भिषा फ्रि टिकट भन्दै बैदेशिक रोजगारलार्इ निशुल्क बनाउने निर्णय गरेता पनि यो निर्णय साउदी अरबमा लागू नभएको परन्तु कामदारहरूको क्षतिपूर्तिको अधिकार नै खोसिएको मार्मिक बिडम्बना ब्याप्त छ ।

Survey - Jeddah Survey - Khobar Survey - Qatif -2 Survey - Qatif-1

Status of Cases lodged at DoFE 8Jun17

नयां राजदूतज्युसंगको पहिलो स्वागत भेटमै पनि एनसिसी सचिव बिशाल श्रेष्ठले अलकासिमका पीडित कामदारहरूका केही केशहरू तथा सदस्य जोन अर्यालले दमाममा एनआरएनए साउदीले सञ्चालन गर्दै आएको सेल्टर तथा त्यहांको दलाली र कमिशनखोरी बारे दूतावासको ध्यानाकर्षण गर्नुभएको थियो भने महा सचिव तेज थापाले सोही सेल्टरको निरन्तरता तथा सो को बैधता र सरकारी सम्मतीका लागि दूतावासको निर्णयबारे जिज्ञासा राख्नुभएको थियो ।

अभिब्यक्त बिचार, जानकारी, सुझाव तथा मागलार्इ सधन्यवाद ग्रहण गर्दै महामहिम राजदूत डा. महेन्द्र प्रसाद सिंहले आफू नेपाल र यहां रोजगाररत नेपाली कामदारहरूका लागि केही राम्रो गर्न नै आएको, तर एउटा राजदूत मात्रले चाहेर पनि सबै काम गर्न नसक्ने, दूत भनेकै निर्देशनमा काम गर्ने पदाधिकारी हुने भएकाले आफ्नो अधिकार र कार्यक्षेत्र पनि सिमित हुने तर पनि सिंगो दूतावास परिवारको टिमवर्कमा तथा नेपाली समुदाय र यहां कृयाशिल संघ संस्था समेतको सहयोग र सहकार्यमा राम्रो गर्नसक्नेमा आफू बिश्वस्त र प्रतिबद्ध रहेको बताउनुभयो । उपस्थित एनआरएनकर्मीहरूलार्इ इंगित गर्दै “तपार्इहरू पनि नेपालका दूत नै हुनुहुन्छ, बिदेशमा सबै नेपालीले नेपालको दूत नै बनेर देशको हितमा काम गर्नुपर्छ, म र तपार्इमा थोरै मात्रै फरक होला” भन्दै दूतावासलार्इ रचनात्मक सुझावहरू दिएर सहयोग गर्न र भेटवार्ता आगामी दिनमा पनि जारी राख्ने अपेक्षा ब्यक्त गर्नुभयो ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here