सम्भावना धेरै छन् -देश होइन मानसिकता गरीव छ

1
79

३ डिसेम्बर २०१२

कल्पना दंगाल

नेपाल विश्वकै एकमात्र त्यस्तो राष्ट्र हो,जहाँ  विकासकालागि पूर्वाधारको अत्यन्त राम्रो समायोजन प्रकृति स्वयंले गरिदिएको छ । जल सम्पदा,भू-वनोट  , सांस्कृतिक अवस्था आदिले नेपालको आर्थिक स्थितिलाई निकै मजबुत बनाउन सक्छ् तर हाम्रो कमजोर एवम अदुरदर्शि मानसिकताका र नेतृत्वतहमा पुगेका केहि धुर्तहरुका कारण नेपाल सबैभन्दा गरिब एवम कमजोर राष्ट्रको सुचिमा छ । हाम्रा विशाल छिमेकी राष्ट्र चीन र भारतको अर्थतन्त्रको तुलनामा नेपालको अर्थतन्त्र अत्यन्त कमजोर छ ,जबकि यी दुई राष्ट्रको अर्थतन्त्रको तुलना अमेरीकी अर्थतन्त्रसँग हुने गर्दछ । चिन र भारतको यस्तो सफलताबाट हामीले केहि फाइदा लिन सक्थ्यौ,त्यस्तै सिपको विकास गर्न सक्थ्यौ तर हाम्रो देशमा त्यसकालागी  वातावरण नै अझै बन्न सकेको छैन । देशमा आफ्नै जनशक्ति र सिपमा एउटा सियो पनि बनाउन सकेको अवस्था छैन । देशको अव्यवस्थित प्रणालीका कारण उत्पादित दक्ष जनशक्ति पनि विदेश  पलायन हुनै रुचाइरहेको पाईन्छ । भएकै स्रोत र साधनको परिचालन मात्रै गर्ने हो भने पनि स्वदेशबाट निर्यातलाई बढाउन सकिन्छ । बेरोजगारीका कारण २०६८/६९ सम्म आइपुग्दा ३५ लाख भन्दा बढी युवा जनशक्ति पलायन भएको छ र यो क्रम दिनानुदिन बढ्दै छ । तीनै विदेशीएका नेपालीहरुले बगाएको पसिनाबाट प्राप्त रेमिट्यान्स अहिले नेपालको प्रमुख आर्थीक स्रोत बनेको छ । स्वदेशमा उत्पादित सामग्रीको न्यून निर्यात र विदेशबाट विलासिताका सामग्रीको अत्यधिक आयातका कारण त्यो रेमिट्यान्स पुन बिदेशमै पुग्दछ । यस किसिमको परिपाटीका कारण नेपालको अर्थतन्त्र बर्षौ देखि जस्ताको त्यस्तै छ ।

जल सम्पदाको दोश्रो ठूलो देशका जनता हामी  दिनानुदिन झनझन बढी लोडसेडिङको चपेटामा पर्दै गएका छौ । हाम्रो मुलुकमा जल विद्युतका क्षेत्रमा मात्रै लगानी गर्ने हो भने पनि नेपाली जनताले सञ्चार,यातायात,उद्योगधन्दा तथा कलकारखाना लगायतका क्षेत्रबाट लाभान्वित हुने अवसर प्राप्त गर्दछन् । हाम्रो सानो मुलुकमा उत्पादित विद्युत सबै खपत हुदैन जसका कारण यसबाट पनि नेपालले प्रशस्त पुँजी भित्र्याउने अवसर प्राप्त गर्दछ । यसले हामीले दिनानुदिन खेप्दै आएको डिजेल पेट्रोलको अभावलाई समेत सहजै पूर्ति गर्दछ । मुलुकमा डिजेल पेटोलको अत्यधिक मागलाई विद्युतिय माध्यमबाट पूर्ति गर्न सकियो भने स्वदेशि पुँजी बाहिर जादैन । कलकारखानाको विकासका कारण स्वदेशी  सामग्रीको निर्यातमा समेत जोड दिन सकिन्छ ।

अवैज्ञानिक एवम निर्वाहमुखि कृषि प्रणालीका कारण जनता बाह्रै महिना माटोसँग खेल्छन् र पनि जनसंख्याको  आधा भन्दा बढी हिस्सालाई बिहान बेलुका छाक टार्नै मुस्किल छ । अझै पनि नेपालमा ८० प्रतिशत जनता कृषिमै निर्भर छन् तर सिँचाई ,वीउ विजन ,मलको अभावलाई सरकारले पूर्ति गर्न सकिरहेको छैन । कृषि उत्पादनको अवस्था खस्कदो छ । नेपाल अझै पनि त्यस्तो राष्ट्र हो जहाँ कामकालागी  ज्ञान,सिप,कला र क्षमताको मात्रै अभाव छ,स्रोतको अभाव छैन । हाम्रो देशमा पर्याप्त मात्रामा अन्न ,तरकारी ,फलफुल ,दुग्ध जन्य पदार्थ,माछा मासु,जडिबुटि उत्पादन गर्न सक्ने हो भने पनि बजारको अभाव रहदैन । एकातर्फ यसबाट राष्ट्रमै रोजगारीको सिर्जना हुन्छ भने मुलुकले विकासको गति पनि समात्छ । हामीकहा अझै पनि दक्ष जनशक्तिको अभावका कारण स्वास्थ्य,शिक्षा सञ्चार लगायतका क्षेत्र प्रभावित बन्न पुगेका छन् । यि क्षेत्रहरुमा दक्ष जनशक्तिको उत्पादन गर्ने हो भने झण्डै आधा जनसँख्याले रोजगारीको अवसर पाउने देखिन्छ ।

नेपालमा पर्यटन विकासले मात्रै गति पाउने हो भने पनि लाखौ नेपाली लाभान्वित हुन पुग्छन् । विभिन्न हिमालय,मठमन्दिर ,तिर्थस्थल,नदीनाला ,ताल तलाउ,वनजंगल ,जीवजन्तु, भौगोलिक बनावट र स्वच्छ हावापानीकै कारण लाखौ विदेशी  नेपालप्रति आर्कषित छन् तर त्यसकालागी  नेपालले अहिलेसम्म पूर्वाधारको विकास नै गरेको छैन । फोहोर मैलाको उचित व्यवस्थापन नहुनु ,सञ्चार तथा यातायातको पहुँच  कुनाकुना सम्म पुग्न नसक्नु जस्ता कुराले पर्यटनलाई धक्का मारेको छ । गौतम बुद्ध र सगरमाथाकै नामबाट नेपालले विश्वसामु आफुलाई अद्वितिय राष्टका रुपमा चिनाउन सक्थ्यो तर त्यसकालागि गम्भिर बहस समेत हामी कहाँ  हुन सकेको छैन । हाम्रै आँखा अगाडी  छिमेकि राष्ट्र भारत बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गरिरहेको छ । पर्यटन विकासमा सरकारले गम्भिर नभईदिदा पर्यटकिय स्थलहरु समेत बद्नाम हुन पुगेका छन् । यसरी सिमित संख्यामा  आउने पर्यटकहरुमा यसको कस्तो प्रभाव पर्छ र नेपालको सन्दर्भमा कस्तो सन्देश पुग्छ  भन्ने कुरामा हामी  नबुझेझै गर्न रुचाउछौ ।

अन्तत गम्भिर बहस,राष्टप्रति बफादारीता र सहकार्य बिना हजारौ सम्भावना भएपनि विकास सम्भव छैन भन्ने कुरा नेपालको वर्तमान अवस्थाले पुष्टि गरिसकेको छ त्यसैले अब पनि द्वन्द प्रतिद्वन्द र परनिर्भरता कायम राखिरहने हो भने भावि सन्ततिले सराप्ने छन् । सहमति र सहकार्यको विकल्प छैन । त्यसैले आ आफ्नो ठाउँबाट  सबै उठ्नु जरुरी छ ।

Print Friendly, PDF & Email

1 COMMENT

  1. समय सान्दर्भिक लेख , अब पनि सहमति गरेर अघि बढ्ने दुर्दर्सिता नेतृत्वले नदेखाउनेहो भने पश्चाताप गर्नुसिवाय यिनले केहि पाउन्नन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here