साउदी अरबबाट तरकारीले फर्कायो श्रीमानलाई !

0
50

१४ अक्टुबर २०१२
अनमोलमणि पौडेल
गार्पा सल्यान, नेपाल

     श्रीमान् सन्तोषसिंह घर्ती मजदुरीका लागि साउदी अरब उड्ने बेला श्रीमती दुर्गा घर्तीलाई लागेको थियो, अब दुःख सकिए । पैसाको समस्याबाट केही  भने पनि छुट्कारा मिल्ने भयो । नयाँ घर बन्ने भयो । छोराछोरी पढाउन हम्मे आर्थिक समस्या टर्ने भयो । परिवारको दायित्व र सपना बोकेर सन्तोष २०६३ सालको सुरुवातमै २ वर्षका लागि साउदी उडेका थिए । अवस्था दुर्गाले साचेजस्तो भएन । ‘उहाँको वर्षको सवा लाखजति हुन्थ्यो । साउदी जाँदा र त्यसअघिको केही ऋण तिर्दैमा त्यो पैसा सकियो,’ साक्षरता कक्षाबाट अक्षर चिनेकी दुर्गाले कान्तिपुरसित भनिन्, ‘अरू कमाइ हुने छाँट नदेखेपछि यतै केही गर्नुपर्‍यो भनेर मैले आफ्नो पाखो जमिन खन्न खोसि्रन थालँे । तरकारी खेती सिकें । त्यसैले श्रीमान्लाई फर्काएँ ।’ तरकारी त उनले श्रीमान् जानुअघि पनि लागाउने गरेकी थिइन् । गोलभेंडा, खोर्सानी, बन्दा र फूलकोबी, काँक्रो, करेलाको उत्पादन त्यति बेला पनि हुन्थ्यो । मुस्किलले त्यो उत्पादनले छाक मात्रै टथ्र्यो । बेच्न पुग्ने थिएन । ‘सीप सिकेर खेती गर्नु र नसिकी खेती गर्नुमा धेरै फरक पर्ने रहेछ,’ अमेरिकी विकास नियोग अन्तर्गतको आय आर्जनका लागि शिक्षा -ईआईजी) को कृषि तालिमपछि तरकारी खेती सुरु गरेकी उनले भनिन्, ‘संयोगले मिलेको त्यही तालिमले मैले आफ्नो खेर गइरहेको जमिनलाई उपयोग गर्न जानें । बजार खोजें । मैले खेती सुरु गरेर उहाँ (श्रीमान्) को भन्दा बढी कमाउन थालेपछि यहीं काम गरौं भनेर श्रीमानलाई बोलाएँ । पछिल्लो तीन वर्षमा खेतीको कमाइ उहाँले साढे ४ वर्षमा कमाएभन्दा दोब्बर भएको छ ।’

२ वर्ष कानुनी र अढाई वर्ष गैरकानुनी रूपमा साढे चार वर्षको साउदी बसाइबाट एक वर्षअघि सन्तोष घर फर्के । त्यो अवधिमा उनले करिब ६ लाख कमाए । त्यसबाट जाँदा लागेको १ लाख २० हजारसहतिको करिब ५ लाख ऋण तिरे । दुर्गाले तरकारी खेतीबाट गरेको आम्दानी झन्डै त्यसको दोब्बर थियो । ‘यताकै आम्दानी राम्रो भएकाले म फर्किएँ,’ खोर्सानी बारीमा काम गर्दै भेटिएका सन्तोषले भने, ‘विदेशमा अर्काको निर्देशनमा साँझ बिहान नभनी काम गर्नुपर्छ । परिवारबाट कोसौं टाढा बस्नुपर्छ । तलब सीमित हुन्छ । यता आफ्नै मर्जीमा काम गर्‍यो । कमायो । परिवारसँगै बस्यो ।’ श्रीमान् नभए पनि दुर्गाले पाखो बारीमा तरकारी खेती सुरु गरिन् । श्रीमान् फर्केको गत वर्ष उनको १० रोपनी खेतीबाट १ सय २५ क्विन्टल बन्दा, २५ क्विन्टल टमाटर, २० क्विन्टल खोर्सानी एउटा सिजनमा बेचिन् । त्यसबाहेक स्थानीय व्यापारीलाई पनि बेचेको हिसाब गर्दा कुल आम्दानी थियो झन्डै अढाई लाख रुपैयाँ । ‘आफ्नै पाखोमा तरिका पुर्‍याएर गर्ने हो भने नेपालीले मजदुरीका लागि बिदेसिनु पर्दैन,’ सन्तोषले भने, ‘हामी अल्छे छौं । आफ्नोमा गर्ने कामलाई कमाइ भन्दैनौं । विदेश गएर श्रम खर्चिंदा आएको पैसामा गर्व गर्छौ ।’ परम्परागतभन्दा आधुनिक खेती थाल्ने हो भने पैसा कमाउन बिदेसिनु नपर्ने बताए ।

पछिल्लो ३ वर्षको कमाइले दुर्गाले नयाँ पक्की घर बनाएकी छन् । छोरालाई स्थानीय निजी स्कुलमा पढाएकी छन् । श्रीमान् श्रीमती दुवैको दैनिकी अहिले बिहान उठेदेखि नै खेतबारीमा बित्छ । ‘मेरो खेत साउदीभन्दा नजिक छ,’ सन्तोषले भने । पानीको समस्या भएकाले उनीहरूले खाल्डो खनेर, प्लास्टिक बिछ्याएर थोपा सिँचाइको जोहो गरेका छन् । ‘खेती हो, कहिलेकाहीं प्रकृतिले साथ दिँदैन । असिना पर्छ । खडेरी पर्छ । पानीले बिगार्छ भन्ने पीर हुन्छ । नत्र यसमा कुनै समस्या छैन । घरको मानो खाएर हजारमात्रै कमाए पनि हामीलाई लाख भएको छ,’ दुर्गाले भनिन् । स्थानीय कपुरकोटमा हप्तामा दुई दिन लाग्ने हाटमा आउने व्यापारीले उनीहरूको सबै तरकारी उठाउने गरेका छन् । त्यसका लागि व्यापारीहरू बुटवल, महेन्द्रनगर, पोखराबाट आउने गरेका छन् । व्यापारीलाई तरकारी दिन अहिले उनीहरूलाई भ्याइनभ्याइ भएको छ । सन्तोषलाई अहिले लाग्छ, ‘माटोले जीवन बदलिदिँदो रहेछ । यही माटोले केही गरेन भनेर बिदेसिएको थिएँ । अहिले यही माटोले तानेर यहीं अडिएको छु ।’ २०५८ सालमा बिहे गरेको जोडी पछिल्लो एक वर्षदेखि सँगै छ ।

(इकान्तिपुर बाट साभार )

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here