घरेलु महिला कामदार खाडीमा असुरक्षित छन

0
95

२९ सेप्टेम्बर २०१२

डी. विनोद

विदेशमा काम गरेर धेरै पैसा कमाउने र नेपालमा सुखी जीवनको सपना देख्ने नेपाली नारीहरूको लर्को अहिले निकै लामो भइसकेको छ। सरकारले खाडी मुलुकमा महिला कामदार पनि जान पाउने व्यवस्था गरेपछि महिलाहरू वैदेशिक रोजगारीमा जाने क्रम तीव्र भएको छ। अधिकांश नेपाली महिला अरबी नागरिकका घरमा घरेलु कामदार (हाउसमेड) का रूपमा कार्यरत छन्। तर, उनीहरूले घरको काममात्र गर्दैनन्। घर हेर्नेदेखि अरबी मालिकका ओछ्यान तताउनेसम्म विवशतामा जाकिएका छन् उनीहरू। त्यतिले नपुगेर कहिलेकाहीँ मालिकका पाहुनाका ‘रासलीला’ मा पनि उनीहरूले आफूलाई पस्कनुपर्छ। खाडीको एक मुलुकको श्रम स्वीकृतिमा पुगेका त्यस्ता महिला अरबीको सुविधाका लागि अन्य मुलुकमा समेत पुर्‍याइने गरेका छन्।

दुई वर्षअघि हाउसमेड भएर काम गर्न ओमान पुगेकी संखुवासभाकी एक महिलाले यसै साता अरबी घरमालिकबाट गर्भधारण गरिन्। उनले हवाइजहाजमै बच्चा जन्माएपछि बच्चाको बाबु अरबी घरमालिक भएको बयान दिएकी थिइन्। घरमालिकका भाइको यौनतृष्णाको शिकार बनेकी उनले पटक-पटक यौनजन्य काम गर्नुपरेको खुलासा गरिन्। उनी गर्भवती भएको खबर सार्वजनिक हुने थिएन, तर सललहबाट मस्कट जाने क्रममा हवाइजहाजको बाथरुममै उनले बच्चा जन्माएपछि सनसनी मच्चिएको थियो। घटनाबारे जानकार ओमानमा रहेका दीपक श्रेष्ठ टेलिफोनमा भने, ‘सललहबाट मस्कटको यात्रा गर्दा ओमान एयरको जहाजभित्रै ती महिलाले छोरा जन्माएकी हुन्।’ महिलाका अनुसार घरमालिकका भाइले जबर्जस्ती सम्बन्ध राखेका कारण उनी गर्भवती भएकी हुन्। उनी गर्भवती भएपछि घरमालिकले ओमान प्रहरीको सहयोग लिएर उनलाई नेपाल फर्काउने तयारी गरेका थिए। भिसा रद्द भएका कारण ओमानस्थित अस्पतालले उनलाई उपचारका लागि भर्ना लिएको थिएन। उनको अस्पताल भर्नाका लागि ओमान एयरका कर्मचारीले पहल गरेका थिए। रोयल हस्पिटल बउसार, मस्कटमा उनको उपचार भएको छ। मायाले ओमानमा छोरालाई जन्म दिएको बताइएको छ। ‘बच्चा लिएर नेपाल फर्कने अवस्थामा आफू नभएको उनको गुनासो थियो,’ दीपकले भने, ‘घरमा श्रीमान् र छोराछोरी भएका कारण समस्या परेको उनको गुनासो छ।’ विदेशमा अनैतिक सम्बन्धबाट जन्मिएको बच्चालाई नेपाल लैजाने कुनै कानुनी प्रावधान नभएको कुटनीतिक नियोगको भनाइ छ।

हाउसमेडका रूपमा ओमानसहित खाडी मुलुक जाने धेरै महिलाले मालिकबाट यौनशोषण भोग्नुपरेको छ। मालिकको शोषणबाट गर्भवती भएका धेरै युवती केही महिनामा नै नेपाल फर्काउने गरिएको छ। धेरै अरबीहरूको नासो बोकेर नेपाल फकिर्एका विवाहित र कुमारी आमाहरूले समाजमा अपहेलित भएर बाँच्नुपरेको छ।

वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी सरिता कार्कीका आफन्तले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा उनको उद्धारका लागि निवेदन दिएका छन्। उनका आफन्तका अनुसार कार्कीलाई शारीरिक यातनामात्र दिइएको थिएन, उनको यौन शोषण पनि भएको थियो। त्यतिमात्र होइन, उनलाई कुवेतबाट साउदी अरब पठाइएको पनि निवेदनमा उल्लेख छ। अहिले उनका आफन्त उद्धारको गुहार लगाउँदै वैदेशिक रोजगार विभाग, वैदेशिक रोगजार प्रवर्द्धन बोर्ड र न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेका छन्।

भर्खरै स्थापना भएको कुवेतस्थित नेपाली दूतावासले यस्ता समस्या प्रायः झेलिरहेको छ। यौन शोषणमा परेर गर्भधारण गरेका नेपाली महिलाहरू बच्चासहित जेलमा सजाय भोगिरहेका छन्। अरबीहरूले सुत्केरी भएका नेपाली हाउसमेडलाई दूतावासको गेट अगाडि छाड्ने क्रम पनि बढिरहेको छ। गर्भवतीलाई अस्पताल लैजानुपर्ने भए पनि कुवेती प्रहरीले सहयोग गर्दैन भने अस्पतालले पनि भर्ना लिन मान्दैन। कुवेतमा विवाह नगरी गर्भवती भएमा ‘अपराध’ मानिन्छ। ‘हाउसमेडमा आएका महिला भाग्ने, उनीहरूलाई भगाउने र यौनक्रियाकलापमा संलग्न गराउने क्रम बढिरहेको छ,’ दूतावास अधिकारीहरू भन्छन्, ‘काम गरिरहेको घर छाडेपछि गैरकानुनी हुन्छ। घरमालिकसँग सम्बन्ध राखेपछि त्यहाँबाट निकालिदिने, घर छाडेर पुरुष कामदारसँग सम्बन्ध राख्ने चलन व्यापक भएको छ।

‘ कुवेती जेलमा तीन दर्जनभन्दा बढी नेपाली महिला बच्चासहित अहिले सजाय भोगिरहेका छन्। अनिच्छुक गर्भधारण गर्ने महिलाहरू समस्या लिएर सम्बन्धित मुलुकमा रहेका गैरआवासीय नेपाली संघका समन्वय समितिमा पनि पुग्ने गर्छन्। ‘कतिपय नेपाली महिलाले राम्रो आम्दानीका लागि देहव्यापार पनि गरेका छन्, जसका कारण उनीहरू गर्भवती भएर समस्यामा परेका छन् भने धेरैजसोको यौन शोषण नै हुने गरेको छ,’ वैदेशिक रोजगारीका एक विज्ञ भन्छन्।

एक वर्षअघिमात्र कुवेतस्थित गैरआवासीय नेपाली संघको समन्वय समितिमा आठ महिना र पाँच महिनाको गर्भ बोकेका सन्तकुमारी गल्यान र काली तामाङ सहयोगको माग गर्दै पुगेका थिए। नेपाली, बंगाली र कुवेतीको गर्भधारण गर्ने नेपाली महिलाहरू बढी पाइएका छन्। कतिपय नेपाली पुरुष कामदारले काम गरेर बसिरहेका महिलालाई भगाउने गरेका छन्। ‘त्यसरी भगाएका महिलाहरू नेपालीबाटै पनि गर्भवती भएका छन्, जसका कारण खाडी मुलुकका जेलमा बस्न बाध्य भएका छन्।’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका एक अधिकारीले भने, ‘यस्ता समस्याका उजुरी पनि आउने गरेका छन्। उजुरीमा खुलेर नलेखिए पनि सम्पर्क गर्दै जाँदा यस्तो भेटिएको हो।’

गएको वैशाखमा मकवानपुर जिल्ला अदालतले नामटार गाविसनिवासी कमला रुम्बा लामालाई एक महिलालाई विदेश पठाई जबर्जस्ती यौनशोषण गराएको आरोपमा थुनामा राख्ने आदेश दिएको थियो। अदालतका न्यायाधीश पद्मराज भट्टको इजलासले त्यस्तो आदेश दिएको थियो। आरोपी लामाले २०६६ सालमा नामटारकै २८ वर्षीया एक युवतीलाई खाडी राष्ट्र बहराइनमा प्रत्यक्ष रोजगारीका लागि पठाएकी थिइन्। बहराइनको ठेकेदार कम्पनीले अन्य कुनै काम नलगाई उनको यौन शोषण गर्दै आएको थाहा पाएपछि उनको परिवारलेे घटना सार्वजनिक गरेको थियो। पीडित युवतीका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कारबाही चलाउन लिखित उजुरी दर्ता गराएका थिए। नेपाल सरकार र पठाउने कम्पनीले ती पीडित महिलालाई हालै उद्धार गरिसकेको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि समस्यामा परेको, यौन शोषण भएको भन्ने उजुरीसहित उद्धारका लागि महिनामा कम्तीमा पाँचवटा निवेदन पर्ने गर्छन्। बोर्ड अधिकारी भन्छन्, ‘मालिक भनिएर लेखिएको हुन्छ तर त्यस्ता अरबीको नाम उल्लेख गरिएको हुँदैन। कारबाहीका लागि किटानसाथ दूतावासमा नाम पठाउन मुस्किल हुने गरेको छ।’ त्यसो त दूतावासमा पुगेका महिलाले पनि घरमालिकको नाम भन्न सक्तैनन्। कतिपयलाई नाम थाहा हुँदैन। प्रायः पीडित महिला त्रासका कारण मालिकको नाम भन्न सक्ने अवस्थामा हुँदैनन्।

खाडी मुलुकहरूमा लाखौँ नेपाली महिला हाउसमेडका रूपमा कार्यरत छन्। कुवेतमा झन्डै ५० हजार नेपाली कामदार छन्। त्यसमा ८० प्रतिशत घरेलु महिला कामदार रहेको अनुमान गरिएको छ। दूतावासमा आश्रय लिने महिलाहरूको संख्या पनि उच्च दरमा वृद्धि भइरहेको छ। यौन शोषण, यातना र पारिश्रमिक नपाएर भागेका महिलाहरू दूतावासमा बढी मात्रामा आउने गरेका छन्। ‘दूतावासमा ठाउँ नहुँदा उनीहरूलाई स्थानीय सरकारले सञ्चालन गरेको सुरक्षित गृहमा पनि राखिएका छन्,’ एक अधिकारीले भने, ‘यो क्रम न्यूनीकरण हुनुको साटो बढिरहेको छ।’

समस्याको समाधानमा सरकारी संयन्त्रका लागि सुझाव नपुगेका होइनन्। संविधान सभा कायम रहँदा संसद्को महिला बालबालिका समितिले पनि सरकारलाई विभिन्न कारणले पीडित भएका महिला कामदारहरूको सुरक्षाका लागि सुझावसहित प्रतिवेदन बुझाएको थियो। लेबनानमा गत वर्षमात्र १९ जना महिलाको विभिन्न कारणबाट मृत्यु भएपछि तत्कालीन संसद्को समितिले सुरक्षाको सुझाव सरकारलाई दिएको थियो। समितिले विदेशमा रहेका महिला कामदारको अवस्था र स्थितिको अध्ययनका आधारमा तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

गत वर्ष साउदी अरेबिया, ओमान, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, बहराइन, इजरायल, दक्षिण कोरिया, लेबनानमा एक लाख ५० हजार महिला कार्यरत रहेको प्रतिवेदनमा उल्लेख थियो। साउदी अरेबियामा ६३ हजार, ओमानमा ११ हजार, संयुक्त अरब इमिरेट्समा सात हजार, कुबेतमा २५ हजार, कतारमा १९ हजार, बहराइनमा ५ हजार, इजरायलमा १४ हजार, दक्षिण कोरियामा एक हजार पाँच सय, लेबनानमा नौ हजार नेपाली महिला कामदार भएको गत वर्षको तथ्यांकमा उल्लेख थियो।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here